२०८३ भाद्र ३१ बुधबार

वाणिज्य बैंकहरुले साउनमा घटाए निक्षेपको ब्याजदर, कुनको कति ?

ई आर्थिक    बुधबार, असार ३२ २०८२
2.1K
Shares
वाणिज्य बैंकहरुले साउनमा घटाए निक्षेपको ब्याजदर, कुनको कति ?

ई-आर्थिक, काठमाडौं ।  वाणिज्य बैंकहरुले साउन महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपमा दिइने ब्याजदर औसतमा घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार असारको तुलनामा साउनमा ब्याजदर उल्लेख्य रूपमा तल झरेको छ।

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर असारमा औसतमा ५.९०२ प्रतिशत विन्दु रहेको थियो भने साउनमा घटेर ५.६९७५ प्रतिशतविन्दुमा झरेको छ। यो दर ०.२०४५ प्रतिशतविन्दुले कम हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा पनि औसत ब्याजदर ०.२६ प्रतिशतविन्दुले घटेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले ब्याजदर घटाएका छन्। तीमध्ये प्रभु बैंकले सर्वाधिक १.८५ प्रतिशतविन्दु ब्याज घटाएको छ। असारमा ६.१ प्रतिशत ब्याज दिइरहेको प्रभु बैंकले साउनदेखि अधिकतम ४.२५ प्रतिशत मात्र ब्याज दिनेछ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम हो।

अर्कोतर्फ, स्ट्याण्डर्ड चार्टर्ड बैंक व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक ब्याज दिने बैंक बन्न पुगेको छ। सो बैंकले अधिकतम ६.२६ प्रतिशत ब्याज दिनेछ।

साउनमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले ब्याजदरमा कुनै परिवर्तन नगरी असारकै दरलाई निरन्तरता दिएका छन्।

यद्यपि, केही बैंकहरुले ब्याजदर बढाएका छन्। तीमध्ये हिमालयन बैंकले ब्याजदर वृद्धि गरेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट ६ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ५ प्रतिशतमा पुर्याएको छ।

नयाँ ब्याजदर साउन १ गतेदेखि लागू भएको छ। ब्याजदरमा आएको यस प्रकारको घटबढले ग्राहकको बचत निर्णयमा असर पार्ने विश्लेषकहरूको भनाइ छ।

नबिल बैंकले साउन महिनाका लागि  बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत आधार बिन्दुले घटाएर ५.५ प्रतिशत कायम  गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ०.२५ प्रतिशत आधार बिन्दुले नै घटाएर ५.२५ प्रतिशत कायम गरेको छ।

एनआईसी एसिया बैंक र एभरेष्ट बैंकले ०.३० प्रतिशत आधार बिन्दुले घटाएर ६.२५ प्रतिशत कायम गरेका छन् भने  हिमालयन बैंकले असारमा अधिकतम ब्याजदर ६.२५ प्रतिशत कायम गरेकोमा साउनका लागि ६ प्रतिशतमात्रै कायम गरेको छ।

साथै  नेपाल एसबीआई बैंकले साउनका लागि ०.१५ प्रतिशत आधार बिन्दुले ब्याजदर घटाउँदै ५.५ प्रतिशत कायम गरेको देखिन्छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले भने दीर्घकालीन अवधिको साधारण मुद्दतीको ब्याजदरमा खासै ठूलो परिवर्तन गरेको छैन। कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले सामान्यरुपमा ब्याजदर घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले भने ०.५ प्रतिशत आधार बिन्दुले नै ब्याजदर घटाएको छ।

माछापुच्छ्रे बैंकले भने साधारण मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत आधार बिन्दुले नै घटाएको छ। कुमारी, ग्लोबल आइएमई बैंक र एनएमबि बैंकले भने असारकै दीर्घकालीन निक्षेपको ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।

सिटिजन्स बैंकले ०.१५ प्रतिशतले दीर्घकालीन निक्षेपको ब्याजदर घटाएर ५.५० प्रतिशत कायम गरेको छ। प्राइम कमर्सियल बैंकले दीर्घकालीन अवधिको साधारण बचतको ब्याजदर ६ प्रतिशतमा कायम गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij