२०८३ साउन ९ शनिबार

यसरी निकालियो दश वर्षीया बालिकाको पेटबाट सात किलोको ट्युमर

ई आर्थिक    बुधबार, असार २१ २०७४
3.1K
Shares
यसरी निकालियो दश वर्षीया बालिकाको पेटबाट सात किलोको ट्युमर

२१ असार, काठमाडौं । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ।

तीन घण्टाको समय लगाएर वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा डा आरपी चौधरीको समूहले शीलाको शल्यक्रिया गरेको हो। पेटमा पछाडिबाट पलाएको उक्त ट्युमरलाई चिकित्सकीय भाषामा रोट्रोपेरिटोनियल टेराटोमा भनिन्छ।

सर्जन चौधरीका अनुसार अहिले बिरामीका अवस्था खतरामुक्त भएपनि विशेष हेरचाहको आवश्यकता रहेको छ।

चौधरीले भने,‘पेटमा हुने ट्युमरमध्येको यस्तो खालको ट्युमर १०० जनामा दुई जनामा मात्र हुन्छ, २५ किलो तौल भएकी उनको पेटमा सात किलोको ट्युमर थियो, सो शल्यक्रिया जोखिमपूर्ण र जटिल थियो, अहिले उक्त मासुको जाँच गर्न पठाइएको छ, क्यान्सरको पनि जोखिम भएकाले मासुको रिपोर्टमा बाँकी उपचार निर्भर रहेको छ।’

चिकित्सकका अनुसार आठ महिनाकै उमेरमा शीलाको शल्यक्रिया गर्न सकिन्थ्यो तर मासु बढेर ठूलो हुँदै जाँदा अन्य रोगको जोखिम बढ्ने, शल्यक्रिया पनि जोखिमपूर्ण रहेको थियो। हरेक वर्ष कान्तिबाल अस्पतालमा करिब ३० बालबालिकाको ट्युमरको शल्यक्रिया हुने भएपनि आफ्नो चिकित्सकीय अनुभवमा १० वर्षको बच्चाको सात किलोको ट्युमरको शल्यक्रिया पहिलो पटक गरेको डा चौधरीले अनुभव सुनाए।

गर्भावस्थादेखि नै नियमित जाँच गराउने र कुनै समस्या देखिएमा तुरुन्तै उपचार गराउन सकेमा भविष्यमा ठूलो जोखिम नहुने चौधरीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij