१९ असार, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूलाई एकतर्फी सडक (वान वे) का रूपमा थपिएका छन् । चार पांग्रे तथा दुई पांग्रे सवारीका लागि उपत्यकाका विभिन्न सडकहरूलाई एकतर्फी रुपमा मात्र प्रयोग गर्ने व्यवस्था गरिएको हो ।
काठमाडौंको बढ्दो ट्राफिक जामलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ व्यवस्था लागु गर्ने भएको छ । जसअनुसार अब काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दायाँ मोड्न नपाइने ब्यवस्था पनि कडाइका साथ लागू हुने भएको छ । अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार मैतीदेवी चोकबाट मन्दिरतर्फको सडक, खिचापोखरीबाट एभरेष्ट बैंकतिरको सडक, सातदोबाटोबाट चापागाउँ मोडतिर जाने सडकलाई ‘वान वे’ बनाइएको छ ।
त्यस्तैं, स्वयम्भू चोकबाट किमडोल हुँदै छाउनीतर्फको सडक र बाटुलेघरबाट चारखालतर्फको सडक एकतर्फी गरिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय पर्खालको बाटोमा हेवी सवारी साधनको प्रवेश निषेध गरिएको छ ।
राजधानीका विभिन्न सडकमा सवारी साधनहरु दायाँ मोड्न निषेध गरिएको छ । त्रिपुरेश्वरदेखि कालिमाटी सडकसम्मको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न निषेध गरिएको छ ।
माइतिघरदेखि कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा पनि सवारी मोड्न निषेध गरिएको छ । नयाँ बानेश्वरबाट पुरानोबानेश्वर सडक खण्डमा भिमसेनगोला जान निषेध गरिएको छ । कान्तिपथको ज्याठा गल्ली, कानदेवतास्थान, हनुमानस्थान, इनारमोड, बखुल्डोल, दमकल, छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघाराी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा पनि दायाँ मोड्न निषेध गरिएको छ ।