२०८३ भाद्र २५ बिहिबार

राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू

ई आर्थिक    शनिबार, पौस २७ २०८१
7.9K
Shares
राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू

ई-आर्थिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ।

रघुगंगा गाउँपालिका-३ तिल्केनीचौरस्थित विद्युतगृहत परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको हो। स्विचयार्डका उपकरणले विद्युतगृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ। राहुघाट जलविद्युत् आयोजनाको सिभिल महाशाखा प्रमुख रविन कट्टेलले एआईएस (एयर इन्सुलेटेड) प्रविधिको स्विचयार्ड निर्माण गर्न लागिएको जानकारी दिए।

‘सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले स्विचयार्डको फाउण्डेशन तयार पार्ने कामलाई तीव्रता दिएको र हाइड्रोमेकानिकल ठेकेदार भारत हेवी इलेक्ट्रिकल्स (भेल)ले जडान गर्ने उपकरण तयार पारेर आयात थालेको छ’, उनले भने, ‘आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिएका छौँ।’

राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट दुई सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना-कुश्मा प्रसारण लाइन (डबल सर्किट)मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ। चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ।

विद्युतगृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ। विद्युतगृहबाट निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ। टर्वाइन, जेनेरेटरका पाट्स जडान गर्ने काम थालिएको छ। आयोजनाको जग्गा अधिग्रहणदेखि हालसम्मको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत रहेको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।

‘बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ’, उनले भने, ‘डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ।’

मुख्य सुरूङको चारवटा अडिटबाट करिब दुई हजार तीनसय मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको छ। रघुगंगा गाउँपालिका-४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्ध जलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहबाट निर्माणाधीन छ।

आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो। ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो। पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो। पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij