२०८३ भाद्र २९ सोमबार

‘निकुञ्जमा उडान रोक्ने हो भने हेलिकोप्टर व्यवसाय पलायन नै हुन्छन्’

ई आर्थिक    मंगलबार, पौस १६ २०८१
9.8K
Shares
‘निकुञ्जमा उडान रोक्ने हो भने हेलिकोप्टर व्यवसाय पलायन नै हुन्छन्’

दिल बहादुर ओली

माउण्टेन हेलिकप्टर्स प्रा. लि.

सगरमाथा राष्ट्रिय निकुञ्जमा उडान भर्न रोक लगाउदा हेली क्षेत्रमा कस्तो असर पर्ला ?

सबै हेलिकोप्टरहरुको ९८ प्रतिशत भन्दा बढी व्यापार भनेको सगरमाथा राष्ट्रिय निकुञ्ज वरपर पर्छ । यही क्षेत्रमा उडान रोक गरेपछि हामी जस्तो हेलिकोप्टर व्यवसायीहरु विस्थापित नै हुनुपर्ने अवस्था आउँछ । नेपालमा धेरै पर्यटकहरु आउने भनेकै सगरमाथा हेर्न हो । छोटो समयमा आएका पर्यटकहरु अथवा कुनै कार्यक्रममा आएका विदेशी पाहुनाहरु एकपटक सगरमाथा हेरौं भन्ने उद्देश्य राख्दछन् । उनीहरुले प्रयोग गर्ने भनेकै हेलिकोप्टर हो । त्यस्तै अशक्त हिड्न नसक्ने पर्यटकहरुले पनि सगरमाथा हेर्ने इच्छा राख्दछन् र उनीहरुले प्रयोग गर्ने भनेको हेलिकोप्टर नै हो । यसरी त्यस क्षेत्रमा उडान नै गर्न नदिएपछि हेलिकोप्टर व्यवसायीहरु त विस्थापित नै हुनुपर्ने स्थिति आउँछ । अर्को यसको असर भनेको देशलाई पनि पर्छ । पर्यटकहरु आउँदा देशमा डलर भित्रिन्छ । विदेशी मुद्रा नआउँदा देशलाई घाटा हुन्छ । अर्को धेरै पर्यटकहरु सगरमाथा हेर्नकै लागि भनेर नेपाललाई ट्रान्जिट बनाएर आउने गर्दछन् । यो कार्यबाट उनीहरु सबै रोकिन्छन् । त्यस्तै धेरै पर्यटकहरु सथरमाथा जाँदा पैदलमार्ग प्रयोग गर्ने र फर्कदा हेलिकोप्टरको प्रयोग गर्ने गर्दछन् । यस कार्यले गर्दा उनीहरु पनि रोकिन्छन् । यसरी यस्तो कार्यले होलिकोप्टर व्यवसायी मात्र नभएर पर्यटन व्यवसाय नै ठप्प हुन्छ । र, यसको असर देशको अर्थतन्त्रमा पनि पर्छ ।

कुनै एउटा समूहको स्वार्थ पूरा गर्न यो कार्य गरिदैछ जस्तो मलाई लाग्छ । यतातिर सरकारले ध्यान दिन जरुरी छ । यसरी एउटा समूहको स्वार्थ पूरा गर्न समग्र पर्यटन व्यवसायलाई नै धरासायी बनाउन पाइदैन । यो त विकास विरोधी काम हो । यस्तो कार्यलाई सरकारले तुरुन्त रोक्नुपर्छ ।

एउटा समूहको स्वार्थ पूरा गर्नका लागि पुरै पर्यटन व्यवसाय क्षेत्र नै विस्थापित गराउने काम सरकारले गर्ला त ?

यो दुर्भाग्य हो । एउटा समूहको स्वार्थको पछाडी सरकार किन लागिरहेको छ । यदि यसो होइन भने यस्तो कार्य तत्काल रोक्नुपर्छ । नेपालमा विदेशी मुद्रा भित्र्याउने भनेको पर्यटन क्षेत्र मात्रै हो । यही क्षेत्रलाई किन विस्थापित गरिदैछ । यदि यो क्षेत्र विस्थापित भयो भने देशको अर्थतन्त्र नै खलबलिन सक्छ । अहिले सगरमाथा निकुञ्ज क्षेत्रमा हेलिकोप्टरलाई मात्र रोक लगाउने भनिएको छ । त्यही क्षेत्रमा हिड्न चाँही पाइन्छ । यो कस्तो नियम हो । एउटा समूहको पछाडी सरकार कुदेको प्रष्ट हुन्छ ।

यो क्षेत्रमा नीतिगत समस्या के–के देखिन्नुहुन्छ ?

नेपालमा वायुसेवा सञ्चालन नीति पुर्नमूल्याकन नभएका धेरै वर्ष भइसकेको छ । २०१५ सालतिर बनेको नियम नै अहिलेसम्म छ । यसलाई परिमार्जन गर्नेबेला भइसकेको छ ।

सरकारले माननीय अनिलकुमार सिंन्हाको संयोजकत्वमा हवाई नीति सुधार आयोग गठन गरेको छ । यसले सबैका समस्याहरुलाई समाधान गर्नेखालको सुझाव आउँछ हामी सबैको अपेक्षा छ ।

नेपालमा कति हेलि कम्पनी र हेलिकोप्टरहरुको संख्या रहेका छन् ?

नेपालमा अहिले १२ वटा हेलिकोप्टर कम्पनीहरु रहेका छन् । तिनीहरुको २६ वटा जति हेलिकप्टरहरु रहेका छन् । नयाँ हेलिकप्टर किन्दा झन्डै एउटाको ४० देखि ४५ करोड रुपैयाँ पर्छ । यसरी हेर्दा यस क्षेत्रमा अर्बौको लगानी रहेको छ ।

हेलिकोप्टरहरुबीच प्रतिस्पर्धा कस्तो छ ?

हेली क्षेत्रमा हुने प्रतिस्र्धाको कुरा गर्दा व्यवसाय विस्तारमा सबैजना आक्रामक रुपमा लागेका छन् । पर्यटकलाई कसरी छिटो छरितो र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरामा चाँही प्रतिस्पर्धा हुने गरेको छ । सेवा र सुविधामा प्रतिस्पर्धा हुनु सकारात्मक कुरा हो । तर यस क्षेत्रमा अवस्थ प्रतिस्पर्धा चाँही छैन ।
सन् २०१९ कोभिडको समयमा सबै व्यापार व्यसाय समस्या परेका थिए । त्यसमा पनि पर्यटन व्यवसाय त चौपट नै भएको थियो । कोभिडपछि पर्यटन व्यवसायले लय लिएको छ । सबलै आ–आफ्नो योजनाहरु ग्राहकसामु ल्याएर अगाडि बढिरहेका छन् । यसलाई हामीले सकारात्मक प्रतिस्पर्धाको रुपमा लिनुपर्छ ।

हेलिकोप्टर कम्पनीहरुले भाडादरमा एकरुपता हुन नसकेको गुनासो समय समयमा सुनिन्छ ? यसलाई वायुसेवा सञ्चालन संघले के गर्दै छ ?

हेलिकोप्टरहरुको भाडाको सन्दर्भमा पर्यटन मन्त्रालय, नागरिक उड्डयान प्राधिकरण, वायुसेवा सञ्चालक संघ जस्ता संस्थाहरु बसेर दुई वा तीन वर्षको अन्तरालमा दुरी र लाग्ने खर्चको आधारमा मूल्य निर्धारण गरिदै आएको छ । विगतका समयमा हेलिकोप्टर व्यवसायमा भ्याट लाग्दैनथ्यो । त्यस्तै हेलिकोप्टर खरिद तथा पार्ट पुर्जा खरिद गर्दा पनि भ्याट लाग्दैनथ्यो । तर अहिले सबैमा १३ प्रतिशत भ्याट लाग्दछ । यसले गर्दा पनि भाडादर महंगो भएको हो । तर भाडादरमा सबै हेलिकोप्टर कम्पनीहरुको एकरुपता नै छ ।

यो क्षेत्रमा प्राविधिक तथा दक्ष जनशक्तिको अवस्था चाँही कस्तो छ ?

यस क्षेत्रमा दक्षजनशक्तिहरुको अभाव नै रहेको छ । अहिले पनि सीजनमा पाइलटको अभाव हुन्छ । हामीले सीजनमा विदेशी पाइलट ल्याउनै पर्छ । यहाँका पाइलटले मात्र पुग्दैन । त्यस्तै प्राविधिक क्षेत्रको कुरा गर्दा बुद्ध एयरको एउटा ह्यांगर मात्र छ । त्यहाँ लामो समयसम्म पालो कुरेर बस्नुपर्ने हुन्छ । अहिले यो समस्या समाधानका लागि प्रत्येक हेली कम्पनीले को–पाइलटहरुलाई ट्रेनिङ दिएर तयारी गरिरहेका छन् । उनीहरु पाइलट बन्न कम्तिमा पनि दुई तीन वर्ष लाग्छ । अहिले हेर्दा यो क्षेत्रमा प्राविधिक र दक्ष जनशक्तिको अभाव नै रहेको छ ।

हेलिकोप्टर कम्पनीहरुको वित्तीय अवस्था कस्तो होला ?

कोभिडको समयमा यस क्षेत्रको वित्तीय अवस्था अतिनै खराब थियो । त्यस समयमा टिक्न नै गार्‍हो हुने अवस्था आएको थियो । हेलिकोप्टरको बिजनेस पर्यटककले नै धानेको व्यवसाय हो । यसको मूख्य स्रोत पर्यटक नै हुन् । २०२४ को सुरुवातीदेखि पर्यटक आगवनमा केही वृद्धि भएका कारणले यो क्षेत्र अहिले सुधार हुँदै गइरहेको छ । फेरि कहिले राष्ट्रिय निकुञ्जमा उडान गर्न नपाइने जस्ता कुराहरु आएका छन् । यसले गर्दा फेरि धरासायी हुने अवस्था आउन सक्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति तपाईहरुको आशा के कस्तो छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरण भनेको समग्र उड्डयान क्षेत्रको अभिभावक हो । प्राधिकरणले जहिले पनि सहज र सरलखालको वातावरण बनाइदिनु पर्छ । र, बनाइराखेको पनि छ । प्राधिकरणले लिने ल्याडिङ, पार्किङदेखि अन्य शुल्कहरुमा नेभिगेसन चार्जहरु कम भइदियो भने केही राहत हुन्थ्यो । हामीले प्रत्येक ल्याडिङमा १० डलर चार्ज तिर्नु पर्छ । हेलिकोप्टर भनेको जहाँपनि ल्याण्ड गर्नुपर्ने हुन्छ । यसरी छोटो दुरीमा ल्याण्ड गर्नुपर्दा हामीले धेरै नै चार्ज तिर्नुपर्ने हुन्छ । अर्को भनेको मर्मतको लागि ह्यांगरको कुरा आउँछ । अहिले बुद्ध एयरको मात्र एउटा ह्यांगर छ । हामीले हेलिकोप्टरको मर्मत गर्नुपर्‍यो भने लामो समयसम्म कुर्नुपर्ने हुन्छ । मर्मतका लागि अर्को ह्यांगरको व्यवस्था भइदिए हामीलाई राहत हुने थियो ।

माउन्टेन हेलिकोप्टरको स्थापना कहिले भयो ? कतिवटा हेलिकोप्टरबाट सेवा दिइरहेको छ ?

माउटेन हेलिकोप्टर सन् २००९ मा स्थापना भएको हो । त्यो समयमा चारवटा हेलिकोप्टरले सेवा दिइरहेको थियो । पछि कम्पनीले दुईवटा हेलिकोप्टर बेचेर दुईवटा संचालनमा ल्यायो । र, हामीले २०१७ मा किन्यौं । र, अहिलेसम्म संचालन गर्दै आइरहेको छौं । अहिले हामीले दुईवटा हेलिकोप्टरले सेवा दिइरहेका छौं । निकट भविष्यमा नै हामीले अर्को एउटा हेलिकोप्टर ल्याउने योजनामा छौं ।

माउन्टेन हेलिकोप्टर वायुसेवा संचालक संघमा आवद्ध नहुनका कारण के हो ?

वायुसेवा संघमा हामी पहिला आवद्ध थियौं । हामीले यसलाई नविकरण नगरेको मात्रै हो । कतिपय कुराहरुमा यस क्षेत्रमा परेका समस्याहरुलाई समाधान गर्दै संघमा आवद्ध कम्पनीहरुको संरक्षण गर्ने दायित्व संघको हुन्छ । तर संघले अभिभावकको भूमिका निर्वाह गर्न सकिरहेको छैन । त्यसैले हामीले नविकरण नगरेका हौ ।

माउन्टेन हेलिकप्टर विशेषताहरु के के छन् ?

नेपालमा उड्ने सबै हेलिकोप्टरहरु उच्चक्षेत्रमा उड्न सक्ने क्षमता छन् । विश्वमा उच्च क्षेत्रमा उडान गर्न सुरक्षित हुने खालकै हेलिकोप्टरहरु नेपालमा सञ्चालित छन् । नेपालका सबै हेलिकोप्टर कम्पनीका एउटै प्रकृतिका हेलिकोप्टरहरु रहेका छन् । हेलिकोप्टर कम्पनीहरुको विशेषताको कुरा गर्दा उनीहरुको विजनेस प्लान मात्र फरक हुन सक्छ । अरु सबै कुरा एकै प्रकारका हुन्छन् । हाम्रो कुरा गर्ने हो भने नेपालकै अनुभवी पाइलटाहरुले माउनटेन हेलिकोप्टरहरु उडाइरहेका छन् । त्यस्तै अनुभवी विदेशी पाइलटहरु पनि हामीसँग छन् । पर्यटक अथवा यात्रुलाई ढुक्कका साथ सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउन हामी कटिबद्ध छौं ।

हेलिकप्टर व्यवसाय क्षेत्रका चुनौती तथा सम्भावना के के छन् ?

हेलिकोप्टर क्षेत्रका चुनौतीसंगै सम्भावना पनि एकदमै राम्रो छ । नेपाल प्रकृतिक रुपमा धेरै धनी छ । यहाँको प्राकृतिकलाई नै देखाएर हामी धनी हुन सक्छौं । यहाँ  र्‍याफ्टिङ, प्याराग्ल्याइडिङ, हेली स्की जस्ता अवधारणा ल्याएर उच्च मूल्य तिर्नसक्ने पर्यटक भित्र्याउन सकिन्छ । यहाँ नयाँ नयाँ प्याकेज बनाएर धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ । त्यसैले नेपालमा यो व्यवसायको सम्भावना धेरै राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij