ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले कमी गरिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार हवाई इन्धनमा भने आन्तरिक उडानतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्य उडानतर्फ प्रति किलो लिटर ४५ रुपैयाँले मूल्य घटाइएको हो ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमको भनाई छ । निगमले इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास लिएको छ ।
आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने पनि जानकारी गराएको छ । समायोजन गरेको मूल्य सोमबार राति १२ बजेदेखि मात्र लागू हुनेछ ।