काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षको अवधिमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना नोट नष्ट गरेको छ।
झुत्रा, मैला तथा च्यातिएर चलनचल्तीमा प्रयोग गर्न अयोग्य भएका नोट विस्थापन गर्दै नयाँ नोटको आपूर्ति बढाएको केन्द्रीय बैंकसँग २०८३ असार मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन्।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट सट्टाभर्नाका लागि संकलन गरिएका विभिन्न दरका नोटलाई धुल्याएर ब्रिकेट बनाइएको हो। चलनचल्तीमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका नोट हटाउँदै बजारमा गुणस्तरीय नोटको आपूर्ति कायम राख्न यस्तो प्रक्रिया अपनाइएको बैंकले जनाएको छ।
पुराना नोट नष्ट गर्ने क्रम जारी रहे पनि बजारमा चलनचल्तीमा रहेको नगदको परिमाण भने बढेको छ। २०८२ असार मसान्तमा ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म बढेर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ६.०८ प्रतिशतले बढी हो।
यसैबीच राष्ट्र बैंकले नयाँ नोटको मौज्दात पनि उल्लेख्य रूपमा बढाएको छ। २०८२ असार मसान्तमा ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेकामा २०८३ असार मसान्तमा ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ पुगेको छ। एक वर्षमा नयाँ नोटको मौज्दात ३७ अर्ब ४२ करोड रुपैयाँले अर्थात् करिब ७२.६ प्रतिशतले बढेको हो।
नोटको बढ्दो मागलाई ध्यानमा राख्दै राष्ट्र बैंकले विभिन्न दरका नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता गरेको छ। बैंकनोट डिजाइन, छपाइ र आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको बैंकले जनाएको छ।
गत आर्थिक वर्षमा पाँच रुपैयाँ दरका ३५ करोड थान नोट करारअनुसार आपूर्ति भई ढुकुटीमा राखिएका छन्। १० रुपैयाँ दरका ३४ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअन्तर्गत पहिलो र दोस्रो लटमा गरी २३ करोड थान नोट आपूर्ति भएका छन्।
त्यस्तै, १०० रुपैयाँ दरका ३० करोड थान नोट छपाइ तथा आपूर्तिको सम्झौताअन्तर्गत २१ करोड थान नोट आपूर्ति भई ढुकुटीमा राखिएका छन्। ५०० रुपैयाँ दरका २३ करोड थान नोट छपाइको सम्झौताअन्तर्गत पहिलो लटमा १२ करोड थान नोट आपूर्ति भएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी ५० रुपैयाँ दरका ४२ करोड र एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको छ।
केन्द्रीय बैंकले बैंक नोटमा प्रयोग हुने सुरक्षण विशेषता र प्राविधिक मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरअनुसार अद्यावधिक गर्ने कामसमेत गरिरहेको जनाएको छ। नोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउने तथा नक्कली नोटको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षण प्रविधिमा सुधार भइरहेको बैंकको भनाइ छ।