२०८३ मंसिर ३ बुधबार

म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट

ई आर्थिक    बुधबार, मंसिर ३ २०८३
133
Shares
म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट

म्याग्दी।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा एक करोड ७५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने पदमार्ग, पर्यटनस्थल तथा धार्मिकस्थलको पूर्वाधार विकाससम्बन्धी योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो। कार्यालय प्रमुख मिता थापामगरका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक गन्तव्यमा पहुँच विस्तार, पदमार्ग निर्माण र आवश्यक भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याइएको हो।

मालिका गाउँपालिकामा प्रभुचेला ध्यानाश्रमको भौतिक पूर्वाधार निर्माण, बराह ताल तथा बराही मन्दिर क्षेत्रमा पार्क निर्माण, मालिका धुरी पदमार्ग र अर्कलादेखि बाइन्दफाँट-बराहताल पदमार्गका लागि १० लाख रूपैयाँका दरले बजेट विनियोजन भएको छ। लामखोरिया-डाँडागाउँ र रुम गाउँ पदमार्ग निर्माणका लागि पाँच लाख रूपैयाँका दरले बजेट छुट्याइएको छ।

धवलागिरि गाउँपालिकामा मुना बस्ती, पन्थोक बस्ती र खिवाङ-भदौरे धुरी पदमार्ग निर्माणका लागि १० लाख रूपैयाँका दरले बजेट विनियोजन भएको छ।

रघुगंगा गाउँपालिकामा दोभान-नागी-देवीस्थान पदमार्गका लागि १० लाख तथा माइथानदेखि ओडारे, मुलपानी टोल, दिङ पुलदेखि मल्लाको पाखो हुँदै दुलेपानी र रावलखेत हुँदै राममन्दिरसम्मका पदमार्ग निर्माणका लागि पाँच लाख रूपैयाँका दरले बजेट छुट्याइएको छ।

अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण आधार शिविरको पूर्वाधार, मौरिस हर्जोग पदमार्ग तथा अन्धगल्छी-रुप्से झरना-मतिचौर-भुरुङ हुँदै धौलागिरि आइसफल जाने पदमार्ग निर्माणका लागि १० लाख रूपैयाँका दरले बजेट विनियोजन भएको छ। घोरेपानी-पुनहिल पर्यटन पूर्वाधार विकासका लागि १० लाख रूपैयाँ र उपल्लो खोरे-पञ्चौलीडाँडा पदमार्ग निर्माणका लागि पाँच लाख रूपैयाँ छुट्याइएको छ।

मंगला गाउँपालिकामा सिमलचौर-लामोछहरा-टोड्के पदमार्ग निर्माणका लागि १० लाख रूपैयाँ तथा उपल्लो बुकेनी-खरबाने-ससधारा-गम्फा र कुहुँ गाउँ पदमार्ग निर्माणका लागि पाँच लाख रूपैयाँका दरले बजेट विनियोजन भएको छ।

बेनी नगरपालिकामा पात्लेखेत-भण्डारीगाउँ-ओल्वोड-ओखरबोट, पाखाथर-उपल्लोथर-चुच्चेढुंगा हुँदै खड्का भगवती र धिमिलाथरदेखि मोटरबाटोसम्म पदमार्ग निर्माणका लागि रु पाँच लाखका दरले बजेट छुट्याइएको छ।

एकीकृत सेवा कार्यालयका इञ्जिनियर सुमन बोगटीका अनुसार बजेट विनियोजन भएका योजना अहिले सर्वेक्षण तथा सम्झौताको चरणमा छन्। स्थलगत सर्वेक्षण र लागत अनुमान तयार गरी आवश्यक प्रक्रिया पूरा गरेर योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको उनले बताए।

योजना सम्पन्न भएपछि जिल्लाका पर्यटकीय तथा धार्मिकस्थलसम्म पुग्न सहज हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यालयमार्फत गत आर्थिक वर्ष २०८२/८३मा पनि म्याग्दीका २४ वटा पर्यटन पूर्वाधारसम्बन्धी योजनाका लागि एक करोड ४० लाख रूपैयाँ विनियोजन भएको थियो। तीमध्ये एक करोड १० लाख रूपैयाँका १९ वटा योजना सम्पन्न भएका थिए भने प्रतिकूल भूगोल, मौसमलगायत कारणले ३० लाख रूपैयाँका पाँचवटा योजना कार्यान्वयन हुन नसकेको इञ्जिनियर बोगटीले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार गत वर्ष सम्पन्न योजनामार्फत जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण गरिएको थियो। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार पनि निर्माण गरिएका थिए। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij