२०८३ मंसिर ४ बिहिबार

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

ई आर्थिक    मंगलबार, मंसिर २ २०८३
589
Shares
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे। उक्त सम्मान बैंकको सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाण कुमार चौधरीले बैंकका तर्फबाट ग्रहण गरे।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए। उनले भने, “यस सम्मानले हाम्रा कर्मचारीहरूको योगदान र ग्राहकहरूले हामीप्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ। ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्न र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउन हामी निरन्तर प्रतिबद्ध छौँ।”

बैंकको यो योगदान व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीको समेत प्रतिबिम्ब हो। बैंकले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार मान्दै आएको छ।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै बैंकले डिजिटल सेवाको विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।

देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार गर्न र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij