२०८३ कार्तिक २८ शुक्रबार

नेपाल राष्ट्र बैंकमा ६१ कर्मचारी माग, मंसिर १७ गतेसम्म आवेदन दिन सकिने

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८३
266
Shares
नेपाल राष्ट्र बैंकमा ६१ कर्मचारी माग, मंसिर १७ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग गरेको हो।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ २६, लेखा तथा लेखापरीक्षणतर्फ ३, वाणिज्य कानुनतर्फ २ र सूचना प्रविधितर्फ ४ जना माग गरेको छ।

त्यस्तै, सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २६ जनाका लागि दरखास्त आह्वान गरिएको छ। कुल ६१ पदमध्ये समावेशी समूहका लागि समेत पद छुट्याइएको बैंकले जनाएको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकले कात्तिक २७ गतेदेखि विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति मंसिर १७ गते तोकिएको छ। तोकिएको समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्रलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ। विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले सम्बन्धित निकायबाट निर्धारण गरिएको समकक्षताको प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ।

यसैगरी, सहायक पदमा आवेदन दिने उम्मेदवारले लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ।

बैंकले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई निर्धारित समयभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij