२०८३ मंसिर ३ बुधबार

खाडी क्षेत्रमा इरानी आक्रमण पुनः तीव्र

ई आर्थिक    बुधबार, मंसिर ३ २०८३
285
Shares
खाडी क्षेत्रमा इरानी आक्रमण पुनः तीव्र

तेहरान । इरानको केशम टापुस्थित क्षेप्यास्त्र अखडामा अमेरिकाले आक्रमण गरेपछि तेहरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन प्रहार गरेको छ । बहराइन र कुवेतले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले ती आक्रमण विफल पारेको जनाएका छन् ।

इरानले कुवेतको अली अल–सलेम हवाई अखडास्थित अमेरिकी प्याट्रियट प्रतिरक्षा प्रणाली तथा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थललाई निशाना बनाएको जनाएको छ । बहराइनको शेख इसा अखडामा रहेको अमेरिकी राडार प्रणालीलाई पनि ड्रोनमार्फत लक्षित गरेको इरानी रिभोलुसनरी गाड्र्सको दाबी छ ।

अमेरिकाले भने इरानी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्ना कर्मचारी र सैन्य सम्पत्तिमाथि भएका आक्रमणको जवाफ भनेको छ । यसैबीच, साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियाद क्षेत्रमा प्रहार गरेको क्रुज क्षेप्यास्त्र रोकेको जनाएको छ ।

इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्ध खाडी क्षेत्रमा फैलिएको छ । अमेरिका र इरानबीच हर्मुज जलघाँटीको आवागमनलाई लिएर पनि तनाव कायम छ । अमेरिकी सेनाले जलघाँटी हुँदै जाने जहाजलाई सुरक्षा दिइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामा ‘डर्टी बम’ प्रयोग गर्ने सम्भावित योजनाबारेका खबरलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । इरानले भने उक्त आरोप अस्वीकार गरेको छ ।

तनाव बढेसँगै अमेरिकाले खाडी क्षेत्रमा विमानवाहक युद्धपोतको सङ्ख्या तीन पु-याएको छ । यसै साता चीनमा हुने ट्रम्प, सी चिनफिङ र भ्लादिमिर पुटिनबीचको त्रिपक्षीय बैठकमा इरान युद्धबारे पनि छलफल हुने ट्रम्पले बताउनुभएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij