२०८३ असोज २३ शुक्रबार

कुनौटा भिरमा सडकको ‘ट्र्याक’ खुल्यो, बेनी–जोमसोम–कोरला सडक सञ्चालनको बाटो खुल्दै

ई आर्थिक    बिहिबार, असोज २२ २०८३
665
Shares
कुनौटा भिरमा सडकको ‘ट्र्याक’ खुल्यो, बेनी–जोमसोम–कोरला सडक सञ्चालनको बाटो खुल्दै

म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक मर्मतमा प्रमुख चुनौती बनेको कुनौटा भिरमा सडकको मार्ग छिचोलिएको छ।

रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले करिब २५० मिटर सडक कटान गरेर बगाएको थियो। सडक योजनाले चार दिनको प्रयासपछि बुधबार उक्त क्षेत्रमा माटो फिलिङ गरी दुईतर्फबाट जोडिएको मार्ग छिचोलेको हो।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार अहिले सडकलाई सवारीसाधन सञ्चालनयोग्य बनाउन लेभल मिलाउने, फिलिङ गर्ने तथा आवश्यक सुधारको काम भइरहेको छ।

उहाँका अनुसार कुनौटामा सडकको आधारसहित मार्ग बगाउँदा पैदलयात्रासमेत जोखिमपूर्ण बनेको थियो। सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन अझै एक–दुई दिन लाग्न सक्ने उहाँले बताउनुभयो।

६ एक्साभेटर र ६ टिप्पर परिचालन

बुधबार कुनौटामा दुईतर्फबाट ६ वटा एक्साभेटर र ६ वटा टिप्पर परिचालन गरिएको थियो। आयोजनाका अनुसार पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटाबाहेकका अन्य अवरुद्ध स्थानमा प्रारम्भिक मर्मतको काम सम्पन्न भइसकेको छ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको बाढीपहिरोपछि ५५ स्थानमा अवरुद्ध भएको थियो।

असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षापछि आएको कालीगण्डकीको बाढीले विभिन्न १० स्थानमा सडक कटान गर्नुका साथै सडक बगाएको र भत्काएको थियो।

पोखरेबगर–कुनौटा खण्डमा काम तीव्र

मालढुङ्गादेखि कुनौटा तथा कोरलादेखि पोखरेबगर सडक पुलसम्म ठूला सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको आयोजनाले जनाएको छ।

पोखरेबगरदेखि कुनौटाबीच पर्ने रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोला क्षेत्रमा पहिरो पन्छाउने तथा नयाँ मार्ग निर्माण गरिएका स्थानमा ग्रेड र घुम्ती मिलाउने, सडक फराकिलो बनाउने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ।

पोखरेबगर पुलमा ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकसँग जोड्ने संरचना तयार पार्ने काम पनि भइरहेको छ। योजनाका प्राविधिक विनोद पौडेलका अनुसार आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखेर उपकरण र मजदुर परिचालन गरिएको छ।

८०–९० करोडको क्षति, पुनर्निर्माणमा ३ अर्ब लाग्ने अनुमान

बाढीपहिरोका कारण सडकमा ठूलो क्षति पुगेपछि सडक विभाग र निर्माण व्यवसायीले १५ एक्साभेटर, १२ टिपर र १५ लोडरसहित जनशक्ति परिचालन गरेका छन्।

सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा समानान्तर रूपमा काम भइरहेको छ।

उहाँका अनुसार आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको आयोजनामा यसपटकको विपद्ले हालसम्मकै ठूलो क्षति पुर्‍याएको छ। सडकमा ८० देखि ९० करोड रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ भने पुनर्निर्माणका लागि करिब ३ अर्ब रुपियाँ आवश्यक पर्ने सडक विभागले जनाएको छ।

कोरला नाका सञ्चालनका लागि सडक महत्वपूर्ण

रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण व्यापारिक नाका बनेको छ। त्यसैले कोरला नाका जोड्ने सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो।

सडक मर्मतको पर्खाइमा चीनबाट आयात गरिएका सामान बोकेका करिब ५०० कन्टेनर काठमाडौँलगायत विभिन्न सहरतर्फ जानका लागि रोकिएका छन्।

यता मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समयसमेत नजिकिँदै गएको छ। पर्यटकीय याम सुरु भइसकेकाले बेनी–जोमसोम सडक शीघ्र सञ्चालनमा ल्याउनुपर्ने दबाबसमेत बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij