२०८३ असोज २३ शुक्रबार

त्रिभुवन विमानस्थलमा नयाँ एटीसी टावर बन्दै, जापान सरकारद्वारा करिब २ अर्ब ७३ करोड अनुदान

ई आर्थिक    बिहिबार, असोज २२ २०८३
741
Shares
त्रिभुवन विमानस्थलमा नयाँ एटीसी टावर बन्दै, जापान सरकारद्वारा करिब २ अर्ब ७३ करोड अनुदान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक व्यवस्थापन प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ एयर ट्राफिक कन्ट्रोल (एटीसी) टावर निर्माण हुने भएको छ।

आयोजनाका लागि जापान सरकारले २ अर्ब ८५ करोड ३० लाख जापानी येन (करिब २ अर्ब ७३ करोड रुपैयाँ) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो।

जापानी सहयोगमा निर्माण हुने नयाँ एटीसी टावरसँगै हवाई ट्राफिक नियन्त्रण सेवाका लागि आवश्यक प्रशासनिक तथा अन्य सुविधा भवनहरू समेत निर्माण गरिनेछन्। नयाँ पूर्वाधार तयार भएपछि विमानस्थलको उडान तथा अवतरण व्यवस्थापन अझ व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ।

एटीसी प्रणालीले विमानको उडान, अवतरण तथा विमानस्थल आसपासको आकाशमा हुने हवाई गतिविधिको निगरानी र व्यवस्थापन गर्ने भएकाले यसको पूर्वाधारलाई विमानस्थलको सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण संरचनाका रूपमा लिइन्छ।

आयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत कार्यान्वयन हुनेछ। यससम्बन्धी जानकारी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमार्फत दिएको हो।

अनुदान सहायता उपलब्ध गराउनेसम्बन्धी ‘एक्सचेन्ज अफ नोट्स’मा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकीले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, जापानी दूतावास तथा जाइका नेपालका अधिकारीहरूको सहभागिता थियो।

नयाँ एटीसी टावर तथा सहायक संरचनाको निर्माणसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रणसम्बन्धी पूर्वाधारमा सुधार आउने र विमान सञ्चालन व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij