काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालमा २१ किलोभन्दा बढी सुन बरामद भएको प्रकरणमा सुन प्रशोधनका लागि प्रयोग गरिएको घर चार महिनाअघि नै भाडामा लिएको खुलेको छ। घरमा सुन गाल्ने र बिस्कुट आकारमा ढाल्ने उपकरण राखेर कारोबार सञ्चालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानअनुसार उक्त घर चिनियाँ नागरिक सु कानले गत साउन ८ गतेदेखि चार महिनाका लागि भाडामा लिएका थिए। उनले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी सम्झौता गरेका थिए। चार महिनाको अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँसमेत भुक्तानी भइसकेको थियो।
घर भाडामा लिएका सु कान साउन ३० गते चीन फर्किएका थिए। त्यसपछि घरको चाबी चीनमै अर्का चिनियाँ नागरिक झेन जिया लीलाई दिइएको र उनले हान फेइलाई हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार झेन जिया ली यस प्रकरणमा मुख्य व्यक्तिका रूपमा देखिएका छन्। हाल पक्राउ परेका चिनियाँ नागरिक हान फेइ, वाङ जियानझेन र झोउ लोङक्विनले उक्त घरमा सुन प्रशोधन तथा ओसारपसारसम्बन्धी काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
चीनबाटै हुन्थ्यो सुन कारोबारको निर्देशन
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लीले नेपालमा रहेका व्यक्तिहरूलाई वीच्याटमार्फत निर्देशन दिने गरेको खुलेको छ।
नेपालमा सुन कहाँ पुर्याउने, कसलाई बुझाउने र कसरी कारोबार गर्ने भन्ने निर्देशन चीनबाटै आउने गरेको प्रहरीको भनाइ छ।
‘उनीहरूले नेपालमा कहाँ, के-कसरी र कसलाई सुन पुर्याउने भन्ने निर्देशन चीनबाटै पाउने गरेको देखिन्छ। उनीहरूको बोसले वीच्याटमार्फत निर्देशन दिने गरेको खुलेको छ,’ एसएसपी खड्काले भने।
प्रहरीले यस प्रकरणमा नेपालमा सुन प्रशोधन गर्ने व्यक्तिदेखि त्यसको व्यवस्थापन र वितरणमा संलग्न सम्भावित व्यक्तिहरूसम्मको सञ्जालबारे अनुसन्धान गरिरहेको छ। यद्यपि, सुनको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्ति र अन्तिम गन्तव्यबारे विस्तृत विवरण खुल्न बाँकी छ।
२१ किलो ७५० ग्राम सुन बरामद
प्रहरीले बूढानीलकण्ठस्थित घरबाट कुल २१ किलो ७५० ग्राम सुन बरामद गरेको जनाएको छ।
बरामद सुनमध्ये १० किलो ९९७ ग्राम सुन ११ वटा बिस्कुट आकारका टुक्रामा थियो। बाँकी १० किलो ७५२ ग्राम सुन अर्धठोस अवस्थामा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार घरमा बाहिरबाट ल्याइएको अर्धठोस सुनलाई विभिन्न मेसिन तथा रसायन प्रयोग गरेर प्रशोधन गरिन्थ्यो। त्यसपछि सुनलाई बिस्कुट आकारमा ढालेर तोकिएको स्थानमा पुर्याउने गरिएको आशंका छ।
घरबाट सुन गाल्ने, आकार दिने, चिस्याउने र सफा गर्ने प्रक्रियामा प्रयोग हुने विभिन्न उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
एसएसपी खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले घरमा ल्याइएको सुन प्रशोधन गर्ने र तयार भएपछि तोकिएको ठाउँमा पुर्याउने काम गर्ने गरेको देखिएको छ।
तर सुन कहाँबाट ल्याइन्थ्यो, कसले उनीहरूलाई उपलब्ध गराउँथ्यो र प्रशोधनपछि कसलाई बुझाइन्थ्यो भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ।
कार्गो सेवामार्फत सुन ल्याइएको आशंका
प्रहरीले अनुसन्धानका क्रममा सुन नेपाल ल्याउन कार्गो सेवा प्रयोग भएको हुन सक्ने विवरणसमेत प्राप्त गरेको छ। तर कार्गोमार्फत नै सुन ल्याइएको थियो वा अन्य माध्यम प्रयोग गरिएको थियो भन्ने विषय पुष्टि हुन बाँकी छ।
सुनको स्रोत र नेपाल भित्र्याउने प्रक्रियाबारे थप प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ।
‘अपरेसन ब्राभो गल्फ’मार्फत निगरानी
बूढानीलकण्ठ क्षेत्रमा चिनियाँ नागरिकहरूले घर भाडामा लिएर सुनको अवैध कारोबार तथा ओसारपसार गरिरहेको विशेष सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निगरानी सुरु गरेको थियो। प्रहरीले यस अनुसन्धान तथा कारबाहीलाई ‘अपरेसन ब्राभो गल्फ’ नाम दिएको थियो।
प्रहरीलाई माथिल्लो भंगालस्थित घरमा शंकास्पद गतिविधि भइरहेको र त्यहाँ सुन हुन सक्ने सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोली परिचालन गरी निगरानी थालिएको थियो।
असोज २२ गते बिहीबार निगरानीकै क्रममा उक्त घरबाट एउटा गाडी बाहिरिन खोजेपछि प्रहरीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा गाडीमा सुन फेला परेपछि प्रहरी घरभित्र प्रवेश गरी थप अनुसन्धानमा जुटेको थियो।
घरभित्र सुन प्रशोधनका लागि प्रयोग हुने मेसिन तथा उपकरण फेला परेपछि प्रहरीले तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। प्रहरी पुग्दा उनीहरूले हातपातसमेत गरेको अनुसन्धान विवरणमा उल्लेख छ।
गाडीमा रहेको सुन कहाँ लैजान लागिएको थियो र कसलाई बुझाउने तयारी थियो भन्ने विषय भने अझै खुल्न सकेको छैन।
सुन ओसार्न भाडाको गाडी प्रयोग
प्रहरीको अनुसन्धानअनुसार पक्राउ परेका हान फेइले नेपाल आएपछि विमानस्थलबाटै गाडी भाडामा लिएका थिए।
उनले सेप्टेम्बर २७ देखि अक्टोबर ११ सम्मका लागि उक्त गाडी भाडामा लिएको विवरणमा उल्लेख छ। गाडी भाडामा उपलब्ध गराउने सेवा प्रदायकलाई दैनिक ८ हजार रुपैयाँ तिर्ने गरी सम्झौता गरिएको थियो।
प्रहरीका अनुसार उक्त गाडी सुन ओसारपसारमा प्रयोग भएको थियो। निगरानीका क्रममा यही गाडी घरबाट बाहिरिन खोजेपछि रोकेर जाँच गर्दा सुन फेला परेको थियो।
गाडीको प्रयोग, पक्राउ परेका व्यक्तिहरूको आवागमन र कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
हान फेइ यसअघि पनि नेपाल आएको खुलेको
प्रहरी अनुसन्धानबाट हान फेइ यसअघि पनि नेपाल आएको खुलेको छ। उनी साउन १९ गते परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्यबारे जानकारी लिएको तथा भदौ १३ गते चीन फर्किएको अभिलेखमा देखिएको प्रहरीले जनाएको छ।
त्यसपछि उनी पुनः नेपाल आएर सुन प्रशोधन तथा ओसारपसारमा संलग्न भएको प्रहरीको अनुसन्धान विवरणमा उल्लेख छ।
प्रहरीले अहिले सुनको स्रोत, नेपाल ल्याउने माध्यम, प्रशोधनपछि वितरण गरिने स्थान र चीनमा रहेका भनिएका मुख्य व्यक्तिसँगको सम्बन्धबारे अनुसन्धान अघि बढाएको छ।
यस प्रकरणले काठमाडौंमा घर भाडामा लिएर सुन प्रशोधन तथा ओसारपसार गर्ने संगठित सञ्जाल सक्रिय रहेको हुन सक्ने आशंका बढाएको छ। यद्यपि, कारोबारको पूर्ण स्वरूप र संलग्न व्यक्तिहरूको भूमिकाबारे अन्तिम निष्कर्ष थप अनुसन्धान तथा प्राप्त प्रमाणका आधारमा तय हुनेछ।