२०८३ असोज १३ मंगलबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु

ई आर्थिक    मंगलबार, असोज १३ २०८३
209
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवा सुधारदेखि कानुनी सुधार, वन क्षेत्र उपयोग तथा उच्च तहका कर्मचारीको पदस्थापनसम्मका विभिन्न ६ वटा निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्ड, गजार्ङ खोला साना जलविद्युत् आयोजना तथा बलेफी खोला जलविद्युत् आयोजना (४० मेगावाट) लगायतका आयोजना तथा सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गरिएको छ।

बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ।

यसैगरी संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा सामूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गण्डकी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा सामूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij