२०८३ असोज १० शनिबार

कांग्रेसको क्षेत्रीय अधिवेशन आजदेखि, असोज १३ भित्र सम्पन्न गर्ने तयारी

ई आर्थिक    शनिबार, असोज १० २०८३
399
Shares
कांग्रेसको क्षेत्रीय अधिवेशन आजदेखि, असोज १३ भित्र सम्पन्न गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ।

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति पछाडि सारिए पनि अधिकांश स्थानमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन सञ्चालन भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। समितिले आवश्यक लचकता दिएपछि केही जिल्लाले आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेका छन्।

मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा शनिबार नै अधिवेशन सम्पन्न हुने र बाँकी स्थानमा सोमबारसम्म अधिवेशन सकिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

उनका अनुसार क्षेत्रीय अधिवेशनका क्रममा अहिलेसम्म कुनै उल्लेख्य अवरोध वा समस्या देखिएको छैन। त्यसैले अधिकांश स्थानमा सहज रूपमा अधिवेशन सम्पन्न हुने अवस्था रहेको उनले बताए।

महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुँदै

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्।

यसपटक नेपाली कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगर्ने भएको छ। पार्टीको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना हुनेछ।

क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि कांग्रेसको १५औँ महाधिवेशनका लागि आवश्यक प्रतिनिधि तथा सांगठनिक संरचना चयनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij