काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित भएको सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तस्बिर राख्दै यस्तो टिप्पणी गरेका हुन्।
लोकतन्त्रमा राज्यका सबै काम विधिसम्मत ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कानुनी प्रक्रिया र न्याय प्रणालीप्रति पनि प्रश्न उठाएका छन्।
‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एकपछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ,’ भट्टराईले भनेका छन्, ‘हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ।’
उनले आर्थिक तथा सामाजिक रूपमा कमजोर व्यक्तिले अपराध गर्दा प्रमाण छाड्ने भएकाले सजाय पाउने तर शक्तिशाली व्यक्तिले प्रमाण नछोडी अपराध गर्दा प्रमाणको अभावमा उन्मुक्ति पाउने अवस्था रहेको टिप्पणी गरेका छन्।
भट्टराईले न्यायिक प्रणालीमा रहेको यस्तो असमानतालाई सुधार गर्नुपर्ने बताएका छन्।
‘झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने!’ उनले लेखेका छन्।
उनले देशलाई व्यवस्थित रूपमा लुट्दै आएका तथा भविष्यमा पनि त्यस्ता गतिविधि दोहोर्याउन सक्ने विभिन्न समूहलाई नियन्त्रण नगरी सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने धारणा पनि राखेका छन्।
‘देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन्न,’ भट्टराईले भनेका छन्।