काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन्।
बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट उक्त सामग्री प्रभावितहरूलाई हस्तान्तरण गरेकी हुन्। प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको तत्कालीन स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छताको आवश्यकतालाई ध्यानमा राख्दै बैंकका महिला कर्मचारीको सहभागितामा आवश्यक सामग्री संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ।
विपद्का समयमा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य र सरसफाइका आधारभूत सामग्रीको आवश्यकता पनि महत्वपूर्ण हुने भएकाले प्रभावितको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको बैंकको भनाइ छ।
यसअघि बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरेको थियो।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार विपद् प्रभावित समुदायप्रति संस्थागत सहयोगसँगै कर्मचारीस्तरबाट गरिएको मानवीय सहभागिताले सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप मजबुत बनाएको छ।
कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।