२०८३ असोज १३ मंगलबार

बाढीले सिंगा तातोपानी कुण्डमा क्षति, मुख्य स्नान याममै बन्द

ई आर्थिक    मंगलबार, असोज १३ २०८३
95
Shares
बाढीले सिंगा तातोपानी कुण्डमा क्षति, मुख्य स्नान याममै बन्द

म्याग्दी । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण कुण्डका भौतिक संरचनामा क्षति पुगेपछि तत्कालका लागि स्नान सेवा बन्द गरिएको छ। तीनवटा पोखरीमध्ये बिरामीले उपचारका लागि प्रयोग गर्ने ठूलो तथा माथिल्लो पोखरीमा बाढी पसेर हिलो र लेदो थुप्रिएको छ। पर्यटकका लागि सञ्चालन गरिएको सानो पोखरीसमेत बाढीले भत्काएको छ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखिएका संरचना तथा खुला स्नानस्थलमाथिबाट खसेको पहिरोले समेत क्षति पुर्‍याएको छ।

‘बाढी–पहिरोले तातोपानी कुण्डका भौतिक संरचनामा क्षति पुर्‍याएकाले तत्कालका लागि स्नान गर्न सकिने अवस्था छैन, कुण्ड बन्द भएको छ,’ खड्काले भने, ‘पोखरीमा थुप्रिएको बाढी पन्छाएर तातोपानी कुण्ड सञ्चालनमा ल्याउने प्रयासमा छौँ।’

स्थानीय श्रमदानबाट पोखरी सफाइ गरिँदै

कुण्डमा थुप्रिएको हिलो र लेदो हटाउन स्थानीयवासीले श्रमदान गर्ने भएका छन्। व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि स्थानीयवासीको सहभागितामा पोखरी सफाइ गर्ने निर्णय गरेको समितिकी सदस्य मीना जुग्जालीले बताइन्।

उनका अनुसार प्राकृतिक उपचार तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सिंगा तातोपानी कुण्डको संरक्षण र पुनःनिर्माणका लागि स्थानीय तहसँगै प्रदेश र संघीय सरकारबाट सहयोग आवश्यक छ।

मुख्य याममै कुण्ड बन्द हुँदा व्यवसायी निराश

असोज–कात्तिक सिंगा तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो। यही समयमा कुण्ड बन्द भएपछि तातोपानी बजारमा पर्यटकको चहलपहल घटेको छ। होटल, रेष्टुरेन्ट तथा होमस्टे व्यवसायीहरू प्रभावित भएका छन्।

कुण्डमा नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत वार्षिक २० हजारभन्दा बढी मानिस प्राकृतिक उपचारका लागि आउने गरेको व्यवस्थापन समितिले जनाएको छ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई पोखरीमा जम्मा गरेर यहाँ स्नान गर्ने व्यवस्था छ। पानीमा वीरेनुनको गन्ध आउने गर्छ।

समितिका सचिव कुमार केसीका अनुसार उक्त तातोपानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।

सिंगा तातोपानी कुण्डमा असोजदेखि वैशाखसम्म स्नान गर्ने मुख्य याम मानिन्छ। बाढीका कारण यही मुख्य याममा कुण्ड बन्द भएपछि स्थानीय पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij