लेखनाथ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। बुधबारदेखि सुरु भएको नियमित उडानअन्तर्गत फ्लाई दुबईको जहाज साँझ सवा ६ बजे पोखरा विमानस्थलमा अवतरण गरेको हो।
विमानमा ११३ जना यात्रु रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। उनका अनुसार विमानले १५३ जना यात्रु लिएर साँझ सवा ७ बजे पोखराबाट उडान भर्नेछ।
फ्लाई दुबईको नियमित उडान सुरु भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको नयाँ अध्याय सुरु भएको छ।
पर्यटन व्यवसायीले गरे यात्रुको स्वागत
फ्लाई दुबईको पहिलो नियमित उडानबाट पोखरा विमानस्थलमा अवतरण गरेका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पोखराका पर्यटन व्यवसायीले विमानस्थलमा स्वागत गरेका छन्।
यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो उडानमार्फत विदेश प्रस्थान गर्ने यात्रुलाई महानगर प्रमुख आचार्यले बिदाइ गरेका छन्।
फ्लाई दुबईको उडानलाई लक्षित गर्दै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले यात्रु तथा पर्यटक आकर्षित गर्न विभिन्न छुट तथा विशेष प्याकेजसमेत सार्वजनिक गरेका छन्।
‘पोखरेलीका लागि खुशी र गौरवको दिन’
फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनुलाई पोखरा महानगरपालिकाका प्रमुख आचार्यले गौरवको क्षणका रूपमा व्याख्या गरेका छन्।
उनले भने, “आज हामी सबै पोखरेलीका लागि खुशी र गौरवको दिन हो।”
प्रमुख आचार्यले फ्लाई दुबईको उडान आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन हुने अपेक्षा व्यक्त गरे। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुँदै जाने विश्वाससमेत व्यक्त गरेका छन्।
उद्घाटन भएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको थियो। विमानस्थलबाट आन्तरिक उडान हुँदै आए पनि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा भने सञ्चालन हुन सकेको थिएन।
फ्लाई दुबईको नियमित उडान सुरु भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने प्रयासले गति लिने अपेक्षा गरिएको छ। यसबाट पोखराको पर्यटन तथा समग्र व्यावसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।