२०८३ असोज ७ बुधबार

मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित

ई आर्थिक    बुधबार, असोज ७ २०८३
304
Shares
मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित

काठमाडौँ । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्।

महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठन गरेको यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनित गरेको हो।

महासंघका अनुसार यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा निजी क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन पौडेलको अनुभव र सक्रियताले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन्। उनी लामो समयदेखि नेपालमा अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा काम गर्दै आएका छन्।

रोयल इन्फिल्डको बजार विस्तारदेखि नीतिगत बहससम्म

नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि नै जोडिएका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि अहिलेको विस्तारित बजारसम्मको विकासलाई नजिकबाट अनुभव गरेका छन्।

नाडामार्फत उनले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र पार्टपुर्जाको प्रयोगलगायत विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन्।

स्थानीय उत्पादन र एसेम्बली उद्योगमा जोड

पौडेलले नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन र एसेम्बली उद्योगको विकास आवश्यक रहेको बताउँदै आएका छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पार्टपुर्जाको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण निर्माणमा समेत उनले जोड दिँदै आएका छन्।

महासंघको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ।

समितिको उपसभापतिको जिम्मेवारीमा पौडेलको अनुभवले आगामी दिनमा यातायात तथा पारवहन क्षेत्रसँग सम्बन्धित छलफल, समन्वय र नीतिगत पहलमा योगदान पुग्ने महासंघको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij