काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
प्रधानमन्त्री शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
विशेषगरी गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङसहित हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न र नदी तथा खोलानजिक तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने तयारीमा रहेका नागरिकलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन निर्देशन दिइएको जन अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेताइएको छ।
प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत नागरिकलाई आग्रह गरेका छन्।
“सम्भावित विपद्बाट जोगिन सबै नागरिक सचेत र सुरक्षित रहन आवश्यक छ,” प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।