काठमाडौं । काठमाडौंसहित देशका १८ जिल्लाका स-साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको सूचनामा ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो।
महाशाखाका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, बाँके र बर्दियालगायत जिल्लाबाट बहने स-साना नदी तथा खोलामा बहाव बढ्न सक्नेछ।
यी जिल्लाका नदी तथा खोलाको आसपासका क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले विशेषगरी नदी तथा खोला किनारका बस्ती, सडक तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ।