२०८३ भाद्र ३१ बुधबार

इरानी मिसाइल र ड्रोन आक्रमणबाट अमेरिकी सैन्य अड्डामा ठूलो क्षति, नयाँ तस्बिर सार्वजनिक

ई आर्थिक    बुधबार, भाद्र ३१ २०८३
76
Shares
इरानी मिसाइल र ड्रोन आक्रमणबाट अमेरिकी सैन्य अड्डामा ठूलो क्षति, नयाँ तस्बिर सार्वजनिक

काठमाडौं : इरानी मिसाइल र ड्रोन आक्रमणबाट मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा व्यापक क्षति पुगेको देखाउने नयाँ तस्बिरहरू सार्वजनिक भएका छन्।

सीबीएस न्युजले प्राप्त गरेका तस्बिरहरूमा सैन्य अड्डाका भवन, सवारीसाधन तथा विमानमा ठूलो क्षति पुगेको देखिन्छ। अमेरिकी सेनाभित्र लागू कडा सञ्चार प्रतिबन्धका कारण नाम सार्वजनिक नगर्ने सर्तमा सक्रिय अमेरिकी सैनिकहरूले ती तस्बिर उपलब्ध गराएको जनाइएको छ।

साउदी अरेबियास्थित प्रिन्स सुल्तान एयर फोर्स बेसमा खिचिएको एउटा तस्बिरमा बोइङ ई–३ सेन्ट्री विमानमा प्रत्यक्ष प्रहार भएको देखिन्छ। आक्रमणका कारण विमानको पछाडिको भाग र पुच्छरमा उल्लेख्य क्षति पुगेको छ।

त्यस्तै, कुवेतस्थित क्याम्प बुहरिङका तस्बिरहरूमा भवन, ब्यारेक, ट्रेलर र विभिन्न सैन्य सवारीसाधनमा क्षति पुगेको देखाइएको छ। क्याम्प आरिफजानमा समेत भवनहरूमा क्षति पुगेको उल्लेख छ।

अमेरिकी रक्षा विभागका महानिरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार इरानसँगको युद्धका क्रममा करिब ६० विमानसहित ३.७ अर्ब अमेरिकी डलरसम्मको सैन्य उपकरणमा क्षति पुगेको अनुमान गरिएको छ।

प्रतिवेदनमा कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरू इरानी आक्रमणको निशानामा परेको उल्लेख छ।

सीबीएस न्युजसँग कुरा गरेका एक अमेरिकी सैनिकले यी घटनालाई अमेरिकी सैन्य अड्डामा भएको ठूलो क्षतिको रूपमा वर्णन गर्दै यसको पूर्ण विवरण अमेरिकी जनतासामु नआएको दाबी गरेका छन्।

अर्का सैनिकले सैन्य अड्डाको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूहरू अड्डाको प्रभावकारी रक्षा गर्न नसकेको र क्षति भएको हेर्न बाध्य भएको बताएका छन्।

यद्यपि, सार्वजनिक तस्बिर र प्रतिवेदनमा देखाइएको क्षतिको पूर्ण परिमाण तथा त्यसको सैन्य प्रभावबारे थप विवरण सम्बन्धित अमेरिकी निकायबाट आवश्यक पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij