नयाँ दिल्ली । ब्रिक्स राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्। साथै विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला तथा ऊर्जा प्रवाहलाई सहज बनाउन सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न दुईदिने ब्रिक्स शिखर सम्मेलनले सर्वसम्मतिले संयुक्त घोषणापत्र पारित गर्दै यस्तो प्रतिबद्धता जनाएको हो। सम्मेलनको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।
सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेश्कियानलगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू सहभागी भएका थिए।
पहलगाम आतंकवादी हमलाको निन्दा
ब्रिक्स राष्ट्रहरूले भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गर्दै आतंकवादविरुद्ध सामूहिक प्रयासलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन्।
२२ अप्रिल २०२५ मा भएको उक्त हमलामा २६ जनाको ज्यान गएको थियो। ब्रिक्स राष्ट्रहरूले आतंककारीहरूलाई आर्थिक सहयोग तथा सुरक्षित आश्रय उपलब्ध गराउने पक्षविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्न नहुनेमा पनि जोड दिइएको छ।
अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी सन्धि पारित गर्न माग
ब्रिक्स राष्ट्रहरूले संयुक्त राष्ट्र संघअन्तर्गत अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित व्यापक सन्धिलाई यथाशीघ्र पारित गर्न माग गरेका छन्।
घोषणापत्रमा ब्रिक्सका आधारभूत सिद्धान्तका रूपमा पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित सहकार्यलाई प्राथमिकता दिइएको छ।
एकपक्षीय भन्सार शुल्कप्रति आपत्ति
ब्रिक्स राष्ट्रहरूले एकपक्षीय रूपमा लगाइने भन्सार शुल्क तथा व्यापार प्रतिबन्धप्रति पनि चिन्ता व्यक्त गरेका छन्।
यस्ता कदमले विश्वव्यापी व्यापारमा नकारात्मक असर पार्न सक्ने भन्दै व्यापारसम्बन्धी उपायहरू विश्व व्यापार संगठनका नियम तथा बहुपक्षीय व्यापार प्रणालीअनुकूल हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
आणविक जोखिमप्रति चिन्ता
सम्मेलनमा आणविक हतियारको प्रयोगको सम्भावित खतरा तथा विश्वव्यापी रूपमा बढिरहेको तनावबारे पनि छलफल भएको थियो। ब्रिक्स राष्ट्रहरूले आणविक जोखिम न्यूनीकरण गर्न तथा अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व कायम गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
सात वर्षपछि भारत आए सी जिनपिङ
ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि भारत भ्रमणमा आएका हुन्। गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच भएको झडपपछि उनको यो पहिलो भारत भ्रमण हो।
ब्रिक्स सम्मेलनमा सहभागिता जनाएपछि सीले आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। दुई देशबीचको सम्बन्ध सुधार तथा विभिन्न द्विपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
पुटिन र मोदीबीच भारत–रुस सम्बन्धबारे छलफल
यसअघि शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका थिए। भेटवार्तामा भारत–रुस सम्बन्धलाई थप सुदृढ र गहिरो बनाउने विषयमा सहमति भएको जनाइएको छ।
मोदीले इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग पनि भेटवार्ता गरेका थिए। उक्त छलफलमा होर्मुज जलमार्गको स्वतन्त्रता तथा त्यहाँबाट आवतजावत गर्ने जहाजका चालक दलको सुरक्षालाई सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको थियो।