काठमाडौं । इजराइलका प्रधानमन्त्रीको कपाल स्टाइलिङ र मेकअपमा सन् २०१९ देखि अगस्ट २०२६ सम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् झन्डै ४ करोड रुपैयाँ सरकारी रकम खर्च भएको खुलासा भएको छ।
सूचनाको अधिकारअन्तर्गत प्राप्त सरकारी अभिलेखमा विभिन्न वर्षमा प्रधानमन्त्रीको कपाल तथा मेकअपका लागि गरिएको खर्चको विवरण सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो।
डिसेम्बर २०२५ मा वकिल यारा शलितले प्रधानमन्त्री कार्यालयसँग उक्त खर्चको विवरण मागेकी थिइन्। त्यसपछि कार्यालयले विभिन्न वर्ष र महिनामा भएको खर्चसम्बन्धी अभिलेख सार्वजनिक गरेको हो।
यस अवधिमा इजराइलमा बेन्जामिन नेतन्याहू, नफ्ताली बेनेट र याइर ल्यापिड गरी तीन जना प्रधानमन्त्री बनेका छन्।
नेतन्याहू र पत्नीको कपाल–मेकअपमा ९० प्रतिशत खर्च
सार्वजनिक अभिलेखअनुसार कपाल स्टाइलिङ र मेकअपमा भएको कुल खर्चको करिब ९० प्रतिशत रकम प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी सारासँग सम्बन्धित छ।
यद्यपि, सरकारी अभिलेखका केही दस्तावेजमा उनीहरूका हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको नाम भने गोप्य राखिएको छ। प्रधानमन्त्री कार्यालयले उनीहरूको पहिचान सार्वजनिक नगर्नुको कारण ‘राज्य सुरक्षा’ रहेको जनाएको छ।
कपडा र पाहुनाको आतिथ्यमा पनि नेतन्याहू अगाडि
कपाल र मेकअपबाहेक प्रधानमन्त्रीको कपडा तथा पाहुनाको आतिथ्यमा पनि सरकारी रकम खर्च हुने गरेको अभिलेखले देखाएको छ।
यस शीर्षकमा नेतन्याहूसँग सम्बन्धित खर्च करिब १ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, नफ्ताली बेनेटका लागि करिब १६ लाख रुपैयाँ र याइर ल्यापिडका लागि करिब २ लाख २० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
सरकारले भने गहना, कपडा तथा इमेज कन्सल्टिङसँग सम्बन्धित केही खर्चको पूर्ण विवरण सार्वजनिक गरेको छैन। सुरक्षा कारण देखाउँदै केही विवरण गोप्य राखिएको छ।
नेतन्याहूको कपालको रंग पनि चर्चामा
बेन्जामिन नेतन्याहूको बदलिँदो कपालको रंग इजराइली सञ्चारमाध्यममा यसअघि पनि चर्चाको विषय बन्दै आएको छ।
पछिल्ला वर्षहरूमा उनका कपाल कहिले गाढा खैरो, कहिले खरानी तथा सेतो देखिएका छन्। केही अवसरमा हरियो वा बैजनी छायासमेत देखिएको भन्दै सञ्चारमाध्यमले चर्चा गरेका थिए।
सन् २०१७ मा उनको बदलिँदो हेयर कलरबारे व्यापक चर्चा भएपछि नेतन्याहूले स्वयं यस विषयमा मजाक गरेका थिए। उनले ‘ब्राउन नयाँ ग्रे हो’ भन्दै केही सातामै आफ्नो पुरानो ग्रे रंग फर्किने बताएका थिए।
स्याम्पुले कपालको रंग परिवर्तन गर्ने गरेको खुलासा
सन् २०२१ मा एक अन्तर्वार्ताका क्रममा नेतन्याहूले आफ्नो कपालको रंग परिवर्तन हुनुको कारणबारे बताएका थिए।
उनका अनुसार उनले कपालको रंग परिवर्तन गर्न सकिने किसिमको स्याम्पु प्रयोग गर्ने गरेका छन्। रंग परिवर्तनका क्रममा उनका कपाल कहिले हरियो, कहिले खैरो र कहिले बैजनी देखिएको उनले बताएका थिए।
सरकारी खर्चसम्बन्धी पछिल्लो विवरण सार्वजनिक भएसँगै इजराइलमा प्रधानमन्त्रीको व्यक्तिगत सौन्दर्य तथा पहिरनसम्बन्धी खर्चमा सरकारी रकमको प्रयोगबारे नयाँ बहस सुरु भएको छ।