काठमाडौं । नेपालमा हालसम्म ५०० किलोमिटर भन्दा धेरै सुरुङ बनिसकेको एउटा गैर सरकारी संस्थाको अध्ययनले देखाएको छ।
हालै भोटेकोशी बाढीपछि कैयौँ जलविद्युत् आयोजनाका सुरुङ तथा सुरुङ संरचनाभित्र रहेका विद्युत् गृहमा फसेको ठानिएका कैयौँ मानिसहरूबारे विपद्को १५ दिनसम्म पनि कुनै जानकारी प्राप्त हुन नसकिरहेको अवस्थामा नेपालमा रहेका सुरुङहरू सुरक्षित छन् त? भन्ने विषयमा बहस चलिरहेको छ।
नेपालमा सन् १९१८ सालमै पहिलो सडक सुरुङ बनाइएको थियो। अमलेखगन्जबाट भीमफेदीसम्म सडक बनाउने क्रममा बीचमा पर्ने चुरियामाईको पहाड छल्न तत्कालीन इन्जिनियरहरूले ५०० मिटर लामो यो सुरुङको अवधारणा तयार गरेका थिए।
यसको आधा भागलाई भत्काएर महेन्द्र राजमार्गको सडक बनाइएपछि अहिले यो सुरुङको लम्बाइ २२६.८ मिटर मात्रै छ। यो सुरुङमार्गलाई बागमती प्रदेश सरकारले पर्यटकीय स्थलका रूपमा अवलोकनका लागि राखेको छ।
सडक सुरुङपछि नेपालमा खानी र जलविद्युत् आयोजनामा सुरुङहरू निर्माण हुन थालेको अध्येताहरू बताउँछन्। अहिले नेपालमा खानेपानी, सिँचाई र ढलका लागि पनि विभिन्न खाले सुरुङहरू प्रयोगमा छन्।
नेपाल टनलिङ असोसिएशनका अनुसार नेपालमा सबैभन्दा धेरै सुरुङ जलविद्युत् आयोजनाहरूमा बनेका छन्। भोटेकोशी बाढीपछि कैयौँ दिनदेखि उद्धारकर्मीहरू प्रवेश गर्ने प्रयास गरिरहेको चिलिमे जलविद्युत् आयोजनाको विद्युत् गृह २५० मिटर लामो सुरुङभित्रको भूमिगत संरचनामा छ।
सुरुङविज्ञ समेत रहेका सांसद श्रीराम न्यौपानेले बिहीवार बिहानसम्म यो सुरुङमा उद्धारकर्मीहरू १०५ मिटर भित्रसम्म पुगेको जानकारी गराएका छन्।
नेपाल टनलिङ असोसिएशनका अध्यक्ष रामहरी शर्माका अनुसार नेपालमा जलविद्युत् आयोजनाहरूमा मात्रै हालसम्म करिब ४६० किलोमिटर लामो सुरुङ बनिसकेका छन्। नेपालमा दैनिक १० देखि २० मिटर सुरुङ थपिने गरेको उनी बताउँछन्।
“हामीले सङ्कलन गरेको तथ्याङ्क आधिकारिक चाहिँ होइन। सम्बन्धित परियोजनामा हामीले आफैँ बुझेर त्यसलाई एकीकृत गरेको हो। हामीले सङ्कलन गरेको तथ्याङ्क अनुसार आजको दिनमा देशमा ५५० किलोमिटर भन्दा बढी नै सुरुङ खनिसकेका छौँ,” शर्मा भन्छन्। तर यो तथ्याङ्क वास्तविक मापनमा आधारित नभएको असोसिएशन स्पष्ट गरेको छ।
असोसिएशनका अध्यक्ष शर्माका अनुसार सिँचाई आयोजनामा ३० किलोमिटर, खानेपानी आयोजनामा २७ किलोमिटर, सडकमा २५ किलोमिटर, खानीमा २ किलोमिटर र ढल व्यवस्थापनमा आधा किलोमिटर लामो सुरुङ छ।
काठमाण्डू आसपासमै छन् तीन सुरुङ
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाण्डू ल्याउन उपत्यकाको उत्तरतर्फ सुन्दरीजलसम्म २७ किलोमिटर लामो सुरुङ बनाइएको छ।
पाँच वर्ष अघिको मेलम्ची बाढीले यो सुरुङमा पनि क्षति पुर्याएको थियो।
काठमाण्डूको पश्चिमतर्फ यसै वर्षबाट अर्को सुरुङ सञ्चालनमा आएको छ। २.६ किलोमिटर लामो यो सडक सुरुङले काठमाण्डूको नागढुङ्गालाई धादिङको सिस्नेखोला क्षेत्रसँग जोडेको छ।
टनलिङ असोसिएशनका अनुसार अर्को सुरुङ काठमाण्डूको गुह्येश्वरी नजिकबाट तिलगङ्गासम्म छ। अध्यक्ष शर्मा यो नेपालको ढल तथा पानी व्यवस्थापनमा प्रयोग भएको पहिलो सुरुङ भएको बताउँछन्।
गुह्येश्वरीमा रहेको पानी प्रशोधन केन्द्रमा क्षमता भन्दा बढी भएको पानी सीधै तिलगङ्गासम्म पुर्याउन ताम्रगङ्गाबाट करिब ५०० मिटर लम्बाइको यो सुरुङ बनाइएको छ।
पानी र खानी देखि सङ्ग्रहालयका लागि पनि सुरुङ
काठमाण्डू-तराई मधेश द्रुतमार्गमा सबैभन्दा धेरै र लामा सुरुङहरू बनिरहेका छन्। कुल ७६ किलोमिटर लामो सडकमा एकतर्फी १० किलोमिटर भन्दा धेरै र दुईतर्फी गरेर कुल २१ किलोमिटर लामो सुरुङमार्ग हुने आयोजनाले जनाएको छ।
काठमाण्डूको नागढुङ्गामा जस्तै पाल्पाको सिद्धबाबामा बनिरहेको १.१ किलोमिटर लामो सडक सुरुङमार्ग अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्।
नेपालमा हालसम्म दुई वटा सिँचाई आयोजनामा बहुउद्देश्यीय सुरुङमार्ग बनेका छन्। भेरी बबई सिँचाई आयोजनामा पानी लैजानका लागि १२.२ किलोमिटर भन्दा लामो सुरुङ निर्माण भएको छ। त्यसैगरी सुनकोशी मरिन सिँचाई आयोजनामा पनि १३.१ किलोमिटर लामो सुरुङ बनेको छ।
यी दुई आयोजनामा समेत गरी सिँचाई आयोजनाहरूमा कुल ३० किलोमिटर सुरुङ बनेको टनलिङ असोसिएशनका अध्यक्ष शर्मा बताउँछन्।
त्यस बाहेक करिब २ किलोमिटर सुरुङ खानी उत्खननका लागि बनाइएका असोसिएशनले जनाएको छ।
धादिङको गणेश हिमाल जस्ता तथा सिसा परियोजना सहितका फलाम तथा तामा खानीहरूमा समेत गरी करिब २ किलोमिटर लामा सुरुङ संरचनाहरू रहेका असोसिएशनका अध्यक्ष शर्मा बताउँछन्।
नेपालमा एउटा सङ्ग्रहालय सुरुङ पनि छ। बागलुङको कुँडुलेमा शालिग्राम संरक्षण गर्न १०० फिट लामो सुरुङ भएको संरचना भित्र शालिग्राम सङ्ग्रहालय बनाइएको छ। असोसिएशनले यसलाई सङ्ग्रहालय सुरुङ भनेको छ।
नेपालमा हालसम्म रेलमार्गको सुरुङ नभए पनि पूर्व पश्चिम रेलमार्ग तयार भएको अवस्थामा त्यहाँ सुरुङ पनि हुनसक्ने विज्ञहरूले ठानेका छन्।
कति सुरक्षित छन् सुरुङ
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानस्थित विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारी नेपालका सुरुङ संरचनाहरू विपद् तथा जोखिमका दृष्टिले निकै सुरक्षित रहेको बताउँछन्।
तर भोटेकोशी बाढी जस्ता घटना निकै दुर्लभ र अकल्पनीय किसिमका हुने भएका कारण त्यस्तो अवस्थामा साधारण सुरक्षा मापदण्ड र नियमित सावधानीका उपायहरू समेत कम हुने उनले बताए।
“नेपाल सरकारले सुनामी भनेको छ। म त यसलाई महाप्रलय नै मान्छु,” अधिकारी भन्छन्।
“संसारका कुनै पनि पूर्वाधारहरू सामान्यतया यति ठूलो विपद् आउँछ भनेर तयार गरिँदैन। नेपालजस्तो कम आर्थिक वृद्धिदर भएको देशमा अझै धेरै बाध्यता र सीमितता हुन्छन्।”
नेपाल टनलिङ असोसिएशनका उपाध्यक्ष काँगडा प्रसाईँ पनि भोटेकोशी बाढीलाई असाधारण अवस्था बताउँछन्।
“सुरुङ संरचना तयार भइसकेपछि सबैभन्दा सुरक्षित पूर्वाधार हो। यो स्तरको बाढी आउने सम्भावना भनेको ०.००१ प्रतिशत जस्तो मात्रै हुने भएका कारण त्यसका लागि सुरुङ पूर्वाधारहरू पनि डिजाइन गरिएका थिएनन्। हामीले १५० मिटर भन्दा माथिसम्म बाढी आउँछ भनेर संरचना बनाउने हो भने त्यो आर्थिक हिसाबले पनि सम्भाव्य हुँदैन,” कैयौँ जलविद्युत् आयोजनाका सुरुङमा परामर्शदाता रहेर काम गरिसकेका प्रसाईँ भन्छन्।
यद्यपि यो बाढीले जलविद्युत् आयोजनाहरूमा एकै व्यक्तिलाई निर्माता, सञ्चालक र परामर्शदाता बन्न रोक्नु पर्ने पाठ सिकाएको उनी बताउँछन्।
विपद् अध्ययन केन्द्रका निर्देशक अधिकारी चरम मौसमी गतिविधिलाई ध्यान दिएर नयाँ संरचनाहरूको डिजाइन तयार गर्नुपर्ने अवस्था आएको औँल्याउँछन्।
“डिजाइनको मापदण्डमै सोच्न पर्ने हो की अथवा अझै बढी जोखिमलाई हिसाब गरेर डिजाइन नै परिवर्तन गर्नु पर्ने हो कि भन्ने चाहिँ यसले देखाएको छ,” उनले भने।
नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडा भोटेकोशी बाढीले नेपाल कति धेरै भौगर्भिक जोखिम क्षेत्रमा रहेछ भन्ने देखाएको बताउँछन्।
“हामी हिमनदी, हिमताल र भूकम्पीय जोखिम क्षेत्रमा छौँ। यो स्तरको पनि दुर्घटना हुनसक्छ भन्ने यसले देखाएको छ,” उनले भने।
“हामीले अबका निर्माणमा नयाँ रणनीति तयार गरेर जानुपर्ने आवश्यकता छ।”
किन सकिएन सुरुङबाट समयमै उद्धार गर्न ?
उद्धारकर्मीहरू बिहीवारसम्म पनि कैयौँ सुरुङ संरचनाहरूभित्र फसेका हुनसक्ने ठानिएका मानिसहरूको खोजीमा जुटिरहेका छन्।
टनलिङ असोसिएशनका अध्यक्ष शर्मा नेपालमा सुरुङको स्थान पहिचान, सम्भाव्यता अध्ययन, डिजाइन देखि निर्माणसम्म सक्षम नेपाली जनशक्ति तयार भइसकेको र देशका अधिकांश सुरुङ नेपालीले नै बनाएको बताउँछन्।
उनका अनुसार नागढुङ्गा सुरुङमार्ग र काठमाण्डू-तराई मधेश द्रुतमार्गमा बनिरहेका सुरुङमा विदेशीले अगुवाइ गरे पनि त्यहाँ कैयौँ नेपालीहरू पनि संलग्न भएर काम गरिरहेका छन्।
“जलविद्युत् आयोजनाका सुरुङहरूमा अनुसन्धान, अध्ययन, डिजाइन र निर्माणमा पूर्णतया नेपालीहरू संलग्न छन्,” उनले भने।
नेपालको जटिल भूगोलका कारण पनि विदेशी इन्जिनियरहरू भन्दा नेपालीहरू नै संलग्न भएर देशमा अधिकांश सुरुङहरू निर्माण गरिरहेको शर्माले बताए।
त्यसो भए सुरुङमार्गमा फसेका हुन सक्ने ठानिएकाहरूसम्म किन छिटो पुग्न सकिएन त?
जबाफमा शर्मा भन्छन्, “यो यति जटिल अवस्था भयो कि, अहिले आयोजनाहरूसँग एउटा कुटो कोदालो पनि छैन। सबै बगाएर लग्यो। अहिले त त्यहाँ पुग्नै सकिँदैन उपकरण छैन, चलाउने मान्छे छैन। अहिलेको चुनौती साना ठूला उपकरण त्यहाँ पुर्याउनु हो।” बीबीसीबाट