नारायणगढ । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कारमा आगलागी भएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
आगलागीका कारण ईभी कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।