काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तथा आपूर्ति समस्या समाधान गर्न आफू गम्भीरतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
‘जनतालाई जति ग्यास आवश्यक छ, त्यति उपलब्ध गराउनैपर्छ,’ उनले भने, ‘यस विषयमा सम्बन्धित पक्षसँग छलफल गरेर तत्काल आवश्यक कदम चाल्छौं।’
मन्त्री साहले ग्यास आपूर्ति सहज बनाउन निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग समेत परामर्श गरेर अघि बढ्ने बताए। विगतमा मन्त्रालयबाट भएका काम तथा निर्णयबारे जानकारी लिएर मात्रै आगामी कदम चाल्दा प्रभावकारी परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो।
‘कुनै काम सुरु गर्नुअघि विगतमा त्यससम्बन्धमा के–के भइरहेको थियो भन्ने जानकारी लिएर अघि बढ्दा मात्रै सही नतिजा निकाल्न सकिन्छ,’ मन्त्री साहले भने।
खाना पकाउने एलपी ग्यासको आपूर्तिलाई लिएर विवाद उत्पन्न भएपछि तत्कालीन उद्योगमन्त्री गौरीकुमारीले आजै पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री साहले पदभार सम्हालेसँगै बजारमा देखिएको ग्यास आपूर्ति समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने संकेत गरेका छन्।