काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ता खाना पकाउने एलपी ग्यासको चरम अभावसँगै कालोबजारीको मारमा परेका छन्। असारको अन्तिम सातादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताले पछिल्लो समय भोटेकोशीमा आएको हिमबाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण आपूर्ति शृङ्खला प्रभावित भएपछि झनै सास्ती खेप्नुपरेको हो।
ग्यासको अभाव बढेसँगै यसको फाइदा उठाउँदै केही व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य असुल्न थालेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभावको मौका छोपेर उपभोक्ता ठगी गर्ने एक व्यवसायी फर्मलाई कारबाही गरेको जनाएको छ।
विभागको अनुगमन टोलीले काठमाडौंको मूलपानीस्थित बाबा चोकमा रहेको अनिल खाद्य किराना पसलले सुगम ग्यासको प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरेको प्रमाण फेला पारेपछि ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
विभागका निर्देशक अनिल किराँतीका अनुसार उक्त पसलले ग्यासको मूल्य बढाएर बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा आरोप पुष्टि भएपछि कारबाही गरिएको उनले बताए।
उनका अनुसार विभागले मंगलबारदेखि एलपी ग्यास उद्योग, विक्रेता तथा डिपोमा केन्द्रित भएर अनुगमन तीव्र बनाएको छ। बिहीबार मात्रै ग्यास उद्योग र डिपो गरी १० स्थानमा अनुगमन गरिएको थियो। अधिकांश स्थानमा ग्यास नआएको र सयौं उपभोक्ता ग्यासका लागि लाइनमा बसेको पाइएको विभागले जनाएको छ।
दैनिक मागभन्दा कम ग्यास भित्रिँदै
काठमाडौं उपत्यकामा ग्यास सिलिन्डर भर्ने १९ वटा प्लान्ट छन्। तर पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट उपत्यकासम्म आउन सकेका छैनन्।
आपूर्ति सहज बनाउन व्यवसायीले हेटौंडा, वीरगन्ज, नवलपरासी, धनुषालगायतका क्षेत्रबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ल्याइरहेका छन्। वैकल्पिक सडक प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १ सय ५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न सुझाव दिएको छ।
तर उपभोक्ता भने प्रतिसिलिन्डर २ हजार ६ सयदेखि ३ हजार रुपैयाँसम्म तिर्न तयार हुँदासमेत सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्।
दैनिक १० हजार सिलिन्डर कम आपूर्ति
नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर एलपी ग्यास आवश्यक पर्छ। तर अहिले दैनिक औसत ३० हजार सिलिन्डर मात्रै उपत्यकामा भित्रिइरहेको छ।
मागको तुलनामा आपूर्ति कम भएपछि बजारमा ग्यासको अभाव बढेको निगमको तथ्यांकले देखाउँछ। विभागले भने कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिने तथा उपभोक्ता हितविपरीत व्यापारिक गतिविधि गर्ने व्यवसायीविरुद्ध बजार अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।