२०८३ भाद्र १० बुधबार

दीपक भट्टसँग जोडिएको वित्तीय कारोबार प्रकरणमा चार जना पक्राउ

ई आर्थिक    मंगलबार, भाद्र ९ २०८३
247
Shares
दीपक भट्टसँग जोडिएको वित्तीय कारोबार प्रकरणमा चार जना पक्राउ

काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो समयदेखि फरार रहेका चार जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी अर्की सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका पौडेल धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ दुवैअन्तर्गतको कसुरमा अनुसन्धानमा थिए। महर्जनमाथि धितोपत्र सम्बन्धी ऐनअन्तर्गत तथा मालाकार र श्रेष्ठमाथि बीमा ऐनअन्तर्गत अनुसन्धान भइरहेको थियो।

ब्यूरोका अनुसार व्यवसायी दीपक भट्टको विभिन्न कम्पनीमा रहेको शंकास्पद लगानी, शेयर कारोबारमा भएको भनिएको अनियमितता तथा बीमा क्षेत्रमा भएका गैरकानुनी क्रियाकलापमा पक्राउ परेका व्यक्तिहरूको प्रत्यक्ष संलग्नता देखिएको छ।

पक्राउ परेका चारै जनालाई थप कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको सीआईबीले जनाएको छ।

यसअघि नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले सम्बन्धित कम्पनी तथा तिनका पदाधिकारीमाथि वित्तीय अपचलन तथा प्रचलित ऐनविपरीतका गतिविधिमा संलग्न रहेको आशंकामा विस्तृत अनुसन्धान गर्न सिफारिस गरेका थिए।

लामो समयदेखि फरार रहेका उनीहरू पक्राउ परेसँगै दीपक भट्टसँग जोडिएको भनिएको शंकास्पद लगानी, शेयर कारोबार तथा बीमा क्षेत्रका गतिविधिबारेको अनुसन्धान थप अघि बढ्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij