२०८३ भाद्र ११ बिहिबार

मधेशमा प्राणघातक जापानीज इन्सेफ्लाइटिसको जोखिम बढ्यो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

ई आर्थिक    बुधबार, भाद्र १० २०८३
817
Shares
मधेशमा प्राणघातक जापानीज इन्सेफ्लाइटिसको जोखिम बढ्यो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

बर्दिबास । मधेश प्रदेशमा प्राणघातक जापानीज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण फैलँदै गएको छ। सर्लाहीबाहेक प्रदेशका सातवटै जिल्लामा सङ्क्रमण पुष्टि भएको छ भने मृत्यु दरसमेत उच्च देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भदौ ५ गतेसम्म मधेशका सात जिल्लाका १५ पालिकामा गरी १९ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ। सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। यो मृत्युदर करिब ३२ प्रतिशत हो।

खोप सुपरभाइजर लक्ष्मेश्वर झाका अनुसार सप्तरी सबैभन्दा बढी प्रभावित जिल्ला हो। जिल्लाका राजगढ, तिलाठी कोइलाडी, डाक्नेश्वरी र महदेवा क्षेत्रमा गरी ६ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ।

पर्सामा चार सङ्क्रमितमध्ये दुई जना, धनुषामा तीनमध्ये एक जना र रौतहटमा एक जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास, औरही र सम्सी क्षेत्रमा गरी तीन जना तथा सिरहाको धनगढीमाई नगरपालिका र बारामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उपचारपछि घर फर्किएका केही बिरामीमा समेत दीर्घकालीन स्वास्थ्य समस्या देखिएको परिवारजनले बताएका छन्। उनीहरूमा बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुने तथा विभिन्न शारीरिक र मानसिक अपाङ्गता देखिने गरेको बताइएको छ।

९५ प्रतिशत बालबालिकाले पाए जेई खोप

स्वास्थ्य अधिकारीका अनुसार नियमित खोप कार्यक्रममार्फत करिब ९५ प्रतिशत बालबालिकाले जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप पाएका छन्। तर पछिल्लो समय खोप नलिएका वा खोप लगाउने उमेर पार गरिसकेका व्यक्तिमा सङ्क्रमण र मृत्यु बढी देखिएको खोप सुपरभाइजर झाले बताउनुभयो।

सङ्क्रमण बढेपछि प्रदेश स्वास्थ्य निर्देशक सरोजराज न्यौपानेको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, खोप सुपरभाइजरलगायतको टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले स्थानीय बासिन्दा, जनप्रतिनिधि, नागरिक समाज तथा अन्य सरोकारवालासँग छलफल गरी सङ्क्रमणको अवस्था र रोकथामका उपायबारे जानकारी लिइरहेको छ।

टोलीले नियमित खोप लगाउन, घरवरपर पानी जम्न नदिन, राति सुत्दा झुल प्रयोग गर्न तथा शरीर पूरै ढाकिने कपडा लगाउन आग्रह गरेको छ। साथै हाँस तथा सुँगुर–बङ्गुरका खोर बस्तीभन्दा केही टाढा राख्न पनि सुझाव दिइएको छ।

उच्च ज्वरो र बेहोस हुनेजस्ता लक्षणमा तत्काल उपचार

स्वास्थ्य अधिकारीका अनुसार उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, शरीरमा ऐठन वा झट्का लाग्ने तथा मानसिक अवस्थामा परिवर्तन हुनेजस्ता लक्षण जापानीज इन्सेफ्लाइटिसमा देखिन सक्छन्। यस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिमा जेईका कारण मृत्यु बढी देखिएको भन्दै परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई जापानीज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी रोगको जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि, खोपको पहुँच विस्तार तथा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन दिएको जनाएको छ।

देशभर ५८ संक्रमित, १६ जनाको मृत्यु

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको साउन मसान्तसम्मको तथ्याङ्कअनुसार देशभर ५८ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ। तीमध्ये १६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको जोखिम कायमै रहेकाले ‘सचेत बनौँ, खोप लगाऔँ, लामखुट्टेको टोकाइबाट बचौँ र जापानीज इन्सेफ्लाइटिसबाट सुरक्षित रहौँ’ भन्ने सन्देशसहित सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij