चार जिल्लाका लागि हिडेका सवारीसाधान काठमाडौं रोकिए
रसुवा । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण आए पनि क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अचानक आएको हो। उनका अनुसार तल्लो तटीय क्षेत्रमा रहेका केही जलविद्युत् आयोजनामा क्षति पुगेको र बस्तीमा समेत बाढी पसेको खबर आएको छ।
‘अकस्मात् बाढी आयो। धेरै थोक नोक्सान भएको छ,’ प्रमुख जिल्ला अधिकारी परियारले भन्नुभयो, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरू बगेको भन्ने आएको छ। बस्तीमा पनि बाढी पसेको खबर आएको छ। धेरै कुरामा क्षति भएको छ।’
नेपालतर्फ ठूलो वर्षा नभएकाले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने उहाँले बताउनुभयो। रसुवाको माथिल्लो क्षेत्रमा बाढी ल्याउने गरी वर्षा नभएको र चीनतर्फबाट बाढी आएको सूचना प्राप्त भएको उहाँको भनाइ छ।
बाढीपछि उद्धार तथा क्षतिको विवरण सङ्कलनमा समेत कठिनाइ भइरहेको छ। नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गरिएको छ। थप क्षतिको विवरण सङ्कलन तथा अवस्थाबारे बुझ्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो।

त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्न सक्ने भन्दै नेपाल प्रहरीले नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीले अर्को सूचना जारी नभएसम्म नदी आसपास नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न अनुरोध गरेको छ।
बाढीबाट हुन सक्ने सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी छ।
चार जिल्लाका लागि हिडेका सवारीसाधान काठमाडौं रोकिए
यसैबीच काठमाडौंबाट चार जिल्लाका लागि हिडेका सवारीसाधानलाई प्रहरीले काठमाडौंमै रोकिदिएको छ ।
काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दियो ।