२०८३ भाद्र २ मंगलबार

साउनमै ७० हजारभन्दा बढीले लिए अन्तिम श्रम स्वीकृति

ई आर्थिक    मंगलबार, भाद्र २ २०८३
380
Shares
साउनमै ७० हजारभन्दा बढीले लिए अन्तिम श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको सुरुवातसँगै वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै ७० हजार ४ सय ४१ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

यो संख्या गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा २ हजार ३ सय ३१ ले बढी हो। गत वर्षको सोही महिनामा ६८ हजार १ सय १० जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए। विभागले अन्तिम श्रम स्वीकृति लिनेको संख्यालाई नै वैदेशिक रोजगारीका लागि विदेशिने कामदारको संख्याका रूपमा लिने गरेको छ। यस आधारमा साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या वार्षिक तुलनामा ३.३० प्रतिशतले बढेको देखिन्छ।

विभागको तथ्याङ्कअनुसार साउनमा श्रम स्वीकृति लिने ७० हजार ४ सय ४१ मध्ये ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्। नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ रहेको छ भने बिदामा नेपाल आएर पुनः रोजगारीमा फर्किने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

नयाँ श्रम स्वीकृति लिनेमा म्यानपावर कम्पनीमार्फत जानेको संख्या २९ हजार ४ सय ४७ रहेको छ। व्यक्तिगत नयाँ भिसामा जाने कामदारको संख्या ११ हजार ७ सय ५२ रहेको विभागले जनाएको छ। त्यस्तै, सरकारी तहको सम्झौता अर्थात् जीटूजी प्रक्रियामार्फत ८ सय ६४ जना रोजगारीका लागि जाने भएका छन्।

गन्तव्य मुलुकतर्फ हेर्दा नेपाली कामदारको पहिलो रोजाइमा संयुक्त अरब इमिरेट्स (यूएई) देखिएको छ। साउनमा यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्। कुवेतका लागि ४ हजार ५ सय ६७, रोमानियाका लागि २ हजार ९ सय ८ र जापानका लागि १ हजार २ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन्।

श्रम स्वीकृति लिने कामदारको सीपगत अवस्थाले पनि वैदेशिक रोजगारीमा दक्ष जनशक्तिको हिस्सा ठूलो रहेको देखाउँछ। साउनमा ४० हजार ४ सय ९६ जना दक्ष, १७ हजार ९ सय ९९ जना अदक्ष र ११ हजार ४ सय ६५ जना अर्धदक्ष कामदारका रूपमा विदेश जाने भएका छन्। व्यावसायिक श्रेणीका ३ सय ७८ र उच्च दक्ष श्रेणीका १ सय ३ जनाले पनि श्रम स्वीकृति लिएका छन्।

जिल्लागत रूपमा भने धनुषाबाट सबैभन्दा धेरै कामदारले श्रम स्वीकृति लिएका छन्। साउनमा धनुषाका ३ हजार ३ सय ६८ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्। समग्रमा मधेश र कोशी प्रदेशका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य देखिएको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या नयाँ आर्थिक वर्षको पहिलो महिनामै बढ्नुले रोजगारीका लागि विदेश जाने क्रम अझै उच्च रहेको देखाएको छ। स्वदेशमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा निर्भर हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij