२०८३ साउन ३१ आइतबार

‘यात्री पीटू’ विश्व बजारमा पुर्‍याउन सरकारको सहयोग रहन्छ : अर्थमन्त्री डा.वाग्ले

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
570
Shares
‘यात्री पीटू’ विश्व बजारमा पुर्‍याउन सरकारको सहयोग रहन्छ : अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताउनुभएको छ।

सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

“तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ।”

नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिनुभयो।

“एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ। सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस्। सरकारले के-के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्व बजारमा फैलन अरू के-के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु।”

नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उहाँले दिनुभयो। नेपालमा बनेको स्कुटर अमेरिकी पहाडहरूमा समेत दौडिन सकून् भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्रान्ड मन परोस् र नेपालीहरूले खोजीखोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

सो क्रममा अर्थमन्त्री डा.वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ बनाइएको स्कुटर (यात्री पीटू) को डिजाइन, सुरक्षा जाँच, त्यसमा प्रयोग हुने पार्टपुर्जा र स्कुटरको सफल परीक्षणको अनुभवबारे जानकारी गराउनुभएको थियो।

यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफूहरूले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताउनुभयो।
दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नु र त्यसका केही विशेषता विश्वमै नभएको उच्चस्तरीय र विशिष्ट हुनु नयाँ सफलता भएको उहाँको भनाइ छ।

नेपालको कठिन र जटिल पहाडी तथा हिमाली भूभागहरूमा सफल परीक्षणपछि यस्तो स्कुटरलाई छिट्टै सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो। दुईपांग्रे विद्युतीय सवारीसाधनमा डीसी चार्जर भएको स्कुटर नेपालमा निर्माण हुनु विश्वकै पहिलो सफलता भएको कम्पनीका अधिकारीहरूको दाबी छ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउने कच्चा पदार्थमा केही सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनुभयो।

केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको सो स्कुटर अहिलेलाई भने गोप्य राखिएको छ। नेदरल्याण्ड्सबाट इन्जिनियरिङ सकेर नेपाल फर्किएका असिम पाण्डेले २०१७ मा विद्युतीय मोटरसाइकल बनाउने भन्दै स्टार्टअप कम्पनी ‘यात्री मोटरसाइकल’ खोलेका थिए।

सोही कम्पनी अहिले भने नेपालको अग्रणी गाडी बिक्रेता कम्पनी ‘सिप्रदी ट्रेडिङ’सँगको व्यावसायिक सहकार्यमा ‘सिप्रदी यात्री’ बनेको छ। यही कम्पनीले पहिलो पटक नेपालमै आफ्नै डिजाइन, इन्जिनियरिङ र भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायमा गुणस्तर जाँच गराएर विद्युतीय दुईपांग्रे स्कुटर ‘यात्री पीटू’ निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij