काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर बिहीबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिक्री कक्षको उद्घाटन गरिन्। सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीलाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।
कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालका अनुसार बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको छ। उनका अनुसार बिक्री कक्ष सञ्चालन नेपाली किसान तथा स्वदेशी उद्योगका उत्पादनलाई बजारसँग जोड्ने र उपभोक्तालाई गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउने कम्पनीको नीतिको कार्यान्वयन हो।
बिक्री कक्षमा खाद्य तथा गैरखाद्य गरी १४२ प्रकारका वस्तु बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ।
यसैगरी, कम्पनीले बिहीबारदेखि देशका ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। ती पसलबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ताले प्रतिकिलो तथा प्रतिलिटर पाँच रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ।
कम्पनीले सहुलियत मूल्य पसलमार्फत उपभोक्तालाई राहत दिनुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धन र किसान तथा उद्योगीका उत्पादनलाई बजार उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।