काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापानबीचको लामो समयदेखिको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै, शिक्षा क्षेत्रमा आगामी दिनमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा रहेका चुनौतीलाई स्वीकार गर्दै सुधारको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भए पनि सुधारको प्रक्रिया तत्काल सुरु गर्नुपर्नेमा जोड दिँदै विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र त्यसकै आधारमा आवश्यकता अनुसार बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
मन्त्री पोखरेलले भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलाई मन्त्रालयको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेशागत क्षमता विकास तथा विद्यालय स्वास्थ्य र पोषणका क्षेत्रमा जापानसँग सहकार्य गर्न सकिने धारणा राख्नुभयो। साथै, जापानमा विद्यालय तहदेखि नै विद्यार्थीलाई सांस्कृतिक मूल्य, अनुशासन र सहकार्यको भावना सिकाउने अभ्यासबाट नेपालले पनि सिक्न सक्ने बताउनुभयो।
परिवर्तित सन्दर्भअनुसार नयाँ सोच र सुधारसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले सम्भावित क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभयो।
भेटका क्रममा जापानी राजदूत मायदा तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीप्रति विश्वास आवश्यक हुने उल्लेख गर्दै त्यस किसिमका प्रयासमा जापानले आवश्यक सहयोग गर्ने बताउनुभयो।
राजदूत तोरुले गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय इकाइ वा सम्बन्धित निकायलाई शिक्षकको पेशागत विकासका कार्यक्रम सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिनुभयो। उहाँले शिक्षा क्षेत्रमा नेपाल सरकारले थालेको सुधारको प्रयास प्रशंसनीय रहेको बताउँदै त्यसको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सार्वजनिक शिक्षा सुधारका लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा हुने सुधारले अपेक्षित परिणाम दिन समय लाग्ने भएकाले प्रारम्भिक चरणदेखि नै दृढ प्रतिबद्धता र धैर्य आवश्यक पर्ने धारणा राख्नुभयो।
राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्न सक्ने बताउनुभयो। साथै, सूचना प्रविधि क्षेत्रमा नेपाल–जापानबीच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।