काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागको पत्रका आधारमा उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
पक्राउ परेपछि विभागले यसअघि चार पटक विशेष अदालतबाट म्याद लिएर पौडेललाई न्यायिक हिरासतमा राख्दै आएको थियो। पछिल्लो म्याद थपसँगै विभागलाई अनुसन्धान प्रक्रिया अघि बढाउन थप तीन दिनको समय मिलेको छ।