२०८३ साउन १२ मंगलबार

खरिपाटी होल्डिङ सेन्टर पुगे ६ मन्त्री, सुकुम्बासीको दीगो समाधान गर्ने सरकारको प्रतिबद्धता

ई आर्थिक    आइतबार, असार २८ २०८३
494
Shares
खरिपाटी होल्डिङ सेन्टर पुगे ६ मन्त्री, सुकुम्बासीको दीगो समाधान गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित सरकारका ६ मन्त्रीले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्दै सुकुम्बासी समस्याको दीगो समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूले सुकुम्बासीका नाममा राजनीतिक लाभ लिन नखोज्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

खरिपाटी होल्डिङ सेन्टर पुगेका टोलीमा सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव सहभागी थिए।

अवलोकनका क्रममा भूमि व्यवस्थामन्त्री रावलले कानुनी प्रक्रिया पूरा गरी वास्तविक सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने काम भइरहेको बताइन्। सरकारले पारदर्शी र व्यवस्थित ढंगले काम गरिरहेकाले भविष्यमा यस विषयमा प्रश्न उठ्ने अवस्था नरहने उनको भनाइ थियो।

सुकुम्बासी व्यवस्थापन जटिल विषय भएकाले समाधानका लागि केही समय लाग्ने स्वीकार गर्दै उनले सरकारले दीर्घकालीन समाधानमा केन्द्रित भएर काम गरिरहेको र यस विषयलाई राजनीतिक मुद्दा नबनाउन सबै पक्षसँग आग्रह गरिन्।

अवलोकनका क्रममा मन्त्रीहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या सुनेका थिए। साथै तत्कालीन राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई सुरक्षित स्थानका रूपमा भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij