काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा १९.५ प्रतिशतले बढी हो।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को जुनमा ७६ हजार ४२५ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१९ को सोही अवधिमा ७४ हजार ८८३ जनाले नेपाल भ्रमण गरेका थिए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोषविक्रम थापाका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पछिल्ला महिनामा पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो।
उनले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएकाले असोजसम्म विदेशी पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको बताए।
भारतबाट सबैभन्दा धेरै पर्यटक
पर्यटन बोर्डका अनुसार जुन महिनामा सबैभन्दा धेरै सार्क मुलुकबाट ४८ हजार २५४ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो।
सार्क मुलुकमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक नेपाल आएका छन्।
त्यसैगरी अन्य एसियाली मुलुकबाट १६ हजार १५२ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो। यस अवधिमा चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
अमेरिका र युरोपबाट पनि उल्लेख्य आगमन
युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक नेपाल आएका छन्।
त्यस्तै अमेरिकाबाट ११ हजार ८३६, क्यानडाबाट १ हजार ११, ब्राजिलबाट १४० तथा मेक्सिकोबाट १३२ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
ओसियानिया क्षेत्रबाट ५६ प्रतिशतभन्दा बढी वृद्धि
जुन महिनामा ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशत बढी हो।
यस अवधिमा अष्ट्रेलियाबाट २ हजार ८९६ तथा न्युजिल्यान्डबाट १९४ पर्यटक नेपाल आएका छन्। साथै, अफ्रिकाबाट २९२ र मध्यपूर्वबाट ६७४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यस वर्षको मासिक पर्यटक आगमन
यसअघि सन् २०२६ मा:
- जनवरी: ९२ हजार ५७३
- फेब्रुअरी: १ लाख ५ हजार ४१४
- मार्च: १ लाख २० हजार ५१६
- अप्रिल: १ लाख ७ हजार ९३४
- मे: १ लाख २ हजार ६२६
- जुन: ९१ हजार ३६३
विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
पर्यटन बोर्डले आगामी शरद् पर्यटन सिजनमा अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई थप प्रभावकारी बनाउँदै पर्यटक आगमनलाई अझ बढाउने लक्ष्य लिएको जनाएको छ।