काठमाडौं : अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा तानेको छ। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयअनुसार भण्डारीलाई मन्त्रालयमा सरुवा गरिएको हो।
रसुवा भन्सारबाट जेठ १५ आसपास भएका केही गाडीको जाँचपास प्रक्रियामा त्रुटि देखिएपछि यसअघि १३ कर्मचारीमाथि कारबाही गरिएको थियो। सोही घटनाको नैतिक जिम्मेवारी विभागीय नेतृत्वले पनि लिनुपर्ने निष्कर्षसहित महानिर्देशक भण्डारीलाई मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ।
भण्डारी मन्त्रालयमा सरुवा भएसँगै भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।
भण्डारीले २०८२ साल भदौ १ गतेदेखि भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।