काठमाडौं : पाकिस्तानले अफगानिस्तानभित्र पुनः हवाई आक्रमण गरेको छ। पाकिस्तान सरकारले उक्त आक्रमणमा २९ जना ‘आतंककारी’ मारिएको दाबी गरेको छ भने अफगानिस्तानको तालिबान सरकारले सर्वसाधारणलाई निशाना बनाइएको आरोप लगाएको छ।
पाकिस्तानी सरकारी अधिकारीहरूका अनुसार गोप्य सूचनाका आधारमा सुरक्षाबलले आइतबार राति अफगानिस्तानको सीमावर्ती क्षेत्रमा सैन्य अभियान सञ्चालन गरेको थियो।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा डुरान्ड रेखा नजिक योजनाबद्ध स्थलगत अभियान सञ्चालन गरिएपछि जमात–उल–अहरार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का शिविर तथा गतिविधि केन्द्रलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको उल्लेख गरेका छन्।
उनका अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा जमात–उल–अहरारका कमाण्डर खान फ्रोस (जबाल) सहित चार जना मारिएका छन् भने अन्य केही घाइते भएका छन्। साथै हवाई आक्रमणमा थप २९ जना ‘आतंककारी’ मारिएको पाकिस्तानको दाबी छ।
यता, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने पाकिस्तानी आक्रमणमा सर्वसाधारणलाई लक्षित गरिएको आरोप लगाएका छन्। उनका अनुसार आक्रमणमा महिला तथा बालबालिकासमेत मारिएका र घाइते भएका छन्। उनले घटनालाई ‘कायरतापूर्ण’ कार्यको संज्ञा दिँदै कडा निन्दा गरेका छन्।
बीबीसीका अनुसार पाकिस्तानले अफगानिस्तानको कुनार प्रान्तको पूर्वी क्षेत्र तथा पक्तिया र पक्तिका प्रान्तका चामकानी र ज्ञान जिल्लामा हवाई आक्रमण गरेको हो। सबैभन्दा बढी क्षति पक्तिया प्रान्तको मण्डीखेल गाउँमा भएको बताइएको छ।
तालिबान सरकारका सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले मण्डीखेल क्षेत्रमा करिब १०० जना मारिएका वा घाइते भएको जनाएको छ। यद्यपि घटनाबारे पाकिस्तान र तालिबान सरकारका दाबी एकअर्कासँग बाझिएका छन् भने स्वतन्त्र स्रोतबाट यसको पुष्टि हुन सकेको छैन।