प्राग : चेक रिपब्लिकमा लगातार दोस्रो दिन उच्चतम तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ। आइतबार देशको आधिकारिक मौसम केन्द्रले ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै इतिहासमै पहिलो पटक ४१ डिग्रीको सीमा पार गरेको जनाएको छ।
चेक मौसम विज्ञान संस्थान (सीएचएमआई)का अनुसार प्रागको उत्तरमा रहेको डोक्सानीस्थित आधिकारिक मौसम केन्द्रमा उक्त तापक्रम अभिलेख गरिएको हो। संस्थानले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीमा आधिकारिक मौसम केन्द्रको सञ्जालमा पहिलो पटक ४१ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रेकर्ड भएको उल्लेख गरेको छ। तापक्रम मापन जारी रहेकाले नयाँ रेकर्ड अझै माथि जान सक्ने सम्भावना पनि औंल्याइएको छ।
यसअघि शनिबार सोही केन्द्रमा ४० दशमलव ९० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। उक्त तापक्रमले १४ वर्षअघिको उच्चतम रेकर्ड तोडेको थियो।
पछिल्ला दुई सातादेखि चेक रिपब्लिकसहित युरोपका अधिकांश मुलुक तीव्र गर्मीको लहरबाट प्रभावित छन्। मौसमविद्हरूले आइतबार गर्मी चरम अवस्थामा पुग्ने अनुमान गरेका छन् भने साँझतिर पश्चिमी चेक रिपब्लिकका केही क्षेत्रमा शक्तिशाली हुरी र वर्षाको सम्भावना रहेको बताएका छन्।
आइतबार दुई वटा मौसम केन्द्रमा दिउँसो करिब एक घण्टाभित्रै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो, जुन अघिल्लो दिनको तुलनामा करिब दुई घण्टा अगावै भएको हो।
अत्यधिक गर्मीका कारण प्राग र आसपासका क्षेत्रमा जमिन सतहमा ओजोनको मात्रा बढेर धुवाँको जोखिम सिर्जना भएको भन्दै सीएचएमआईले चेतावनी जारी गरेको छ। संस्थानले विशेषगरी श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई अनावश्यक शारीरिक श्रम नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।