काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शुक्रबार साँझ शेर्पालाई अनुसन्धानका लागि पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा शेर्पाविरुद्ध अनुसन्धान अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रक्रिया अपनाएर व्यक्तिगत लाभ लिएको र विद्यालयलाई आर्थिक नोक्सानी पुर्याएको आरोप लागेको प्रहरीले जनाएको छ।
त्यसैगरी, विद्यालयलाई अनुचित हानि पुर्याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गर्दै भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गरेको आरोपसमेत अनुसन्धानका क्रममा खुलेको सिआइबीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।