काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ८ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। १७औँ नगर सभामा नगर प्रमुख दीपक कुमार रिसालले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले समग्र, सन्तुलित र दिगो विकासलाई केन्द्रमा राख्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा भाषा–संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ। तीव्र सहरीकरणको प्रभावलाई व्यवस्थापन गर्दै नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न विकास र जनहितका कार्यक्रम समेटिएका छन्।
बजेटमा सडक कालोपत्रे तथा स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, सार्वजनिक भवन निर्माण र अन्य आवश्यक पूर्वाधार विस्तारका योजनालाई विशेष प्राथमिकता दिइएको छ। नगर क्षेत्रमा आवश्यक नयाँ विकास आयोजनासमेत अघि बढाइने नगरपालिकाले जनाएको छ।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा विद्यालय पूर्वाधार सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिनेछन्। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आधुनिक उपकरण व्यवस्थापन तथा निःशुल्क र सहुलियतपूर्ण जनस्वास्थ्य सेवालाई निरन्तरता दिइने नीति लिइएको छ।
कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, प्राविधिक सहयोग तथा कृषि सामग्रीमा सहुलियत उपलब्ध गराउने कार्यक्रम बजेटमा समावेश गरिएको छ। युवाहरूलाई सीपमूलक तालिम र स्वरोजगारका अवसरमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य पनि नगरपालिकाले राखेको छ।
गोकर्णेश्वरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणलाई पनि बजेटले विशेष महत्व दिएको छ। मठमन्दिर, गुम्बा, चैत्य तथा अन्य धार्मिक–ऐतिहासिक सम्पदाको संरक्षण, जीर्णोद्धार र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै स्थानीय भाषा, कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि स्रष्टा सम्मान, पुरस्कार स्थापना तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको सशक्तीकरण र आयआर्जन वृद्धिका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। वातावरण संरक्षण, वृक्षारोपण, फोहोरमैला व्यवस्थापन, हरित विकास तथा विपद् जोखिम न्यूनीकरणका योजनालाई बजेटले विशेष स्थान दिएको छ।
त्यसैगरी सूचना प्रविधिको प्रयोग विस्तार गर्दै सेवा प्रवाहलाई थप पारदर्शी, सरल र नागरिकमैत्री बनाउने नीति पनि नगरपालिकाले अघि सारेको छ।
नगर सभामा उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, कार्यपालिका सदस्य, वडा अध्यक्ष, नगरसभा सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नगरपालिकाका अनुसार प्रस्तुत बजेटले गोकर्णेश्वरलाई व्यवस्थित, समृद्ध, सांस्कृतिक रूपमा सशक्त तथा नागरिकमैत्री नगरका रूपमा विकास गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ।