काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जीवन बीमा उद्योगले उल्लेखनीय वृद्धि हासिल गरेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले यस अवधिमा १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँको तुलनामा १२.६२ प्रतिशत बढी हो। समीक्षा अवधिमा कम्पनीहरूले १ करोड १७ लाख ३७ हजार २ सय ९८ वटा बीमालेख जारी गरेका छन्।
कुल प्रिमियम संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले बजार नेतृत्व कायम राखेको छ। कम्पनीले ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १२.५३ प्रतिशत वृद्धि हासिल गरेको छ। नेशनल लाइफ इन्स्योरेन्स २२ अर्ब २१ करोड रुपैयाँसहित दोस्रो स्थानमा रहँदा एलआईसी नेपालले १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ संकलन गरेर तेस्रो स्थान सुरक्षित गरेको छ।
हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब ७९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड रुपैयाँ, एशियन लाइफले ८ अर्ब ७१ करोड रुपैयाँ तथा सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
व्यवसाय विस्तारको दर हेर्दा आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको बीमा शुल्क संकलन बढेर ६ अर्ब १० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, मेट लाइफले पनि दोहोरो अंकको वृद्धिसहित ६ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ भने रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ।
प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। अधिकांश कम्पनीले सकारात्मक वृद्धिदर कायम राख्दै जीवन बीमा बजारको विस्तारलाई निरन्तरता दिएका छन्।
उता, लघु जीवन बीमा क्षेत्रमा पनि व्यवसाय विस्तार भएको देखिएको छ। सञ्चालनमा रहेका तीन लघु जीवन बीमा कम्पनीले समीक्षा अवधिमा १ करोड ६६ लाख ५५ हजार ४ सय ८३ वटा बीमालेख बिक्री गरेका छन्।
लघु जीवन बीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ३८ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै अग्रस्थान ओगटेको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स ३७ करोड ७८ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ भने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ३० करोड ४५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको तथ्यांकले देखाएको छ।
नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलन, बीमालेख संख्या तथा कम्पनीहरूको व्यवसायिक विस्तारले बीमा पहुँच र जनचासो दुवै बढिरहेको संकेत गरेको छ।