२०८३ साउन ९ शनिबार

गुप्तवराहधाममा मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु, नेपालकै पहिलो परियोजना बन्ने दाबी

ई आर्थिक    सोमबार, असार ८ २०८३
1.1K
Shares
गुप्तवराहधाममा मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु, नेपालकै पहिलो परियोजना बन्ने दाबी

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र–१ स्थित गुप्तवराहधाम क्षेत्रमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा मोनोरेल परियोजनाका लागि बजेट विनियोजन गरेपछि प्रारम्भिक अध्ययन प्रक्रिया अघि बढाइएको हो।

गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको गुप्तवराहधाममा मोनोरेल निर्माणको सम्भावना अध्ययन गर्न प्राविधिक टोली सक्रिय रूपमा जुटेको छ। कोरियाबाट आएका मोनोरेल विज्ञहरूको टोलीले स्थलगत अध्ययन गर्दै प्राविधिक तथा भौगोलिक पक्षको मूल्यांकन गरिरहेको बताइएको छ।

साबिक वराहक्षेत्र मन्दिर जाने सडकबाट करिब ४ सय मिटर तल रहेको गुप्तवराह मन्दिरसम्म सहज पहुँच विस्तार गर्ने उद्देश्यले मोनोरेलको अवधारणा अघि सारिएको हो। प्रारम्भिक अध्ययनमा निर्माणका लागि आवश्यक पूर्वाधार, लागत अनुमान, प्राविधिक पक्ष तथा सञ्चालन मोडेलबारे छलफल भइरहेको संयोजक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार विस्तृत सम्भाव्यता अध्ययनका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग थप परामर्श र समन्वय गरिनेछ। विशेषज्ञ टोलीले स्थलगत अध्ययनका क्रममा मोनोरेलसँगै स्काइवाक, सिसाको पुल (ग्लास ब्रिज) तथा बञ्जी जम्प जस्ता पर्यटकीय पूर्वाधार निर्माणको सम्भावनासमेत औँल्याएको छ।

कोशी प्रदेश सरकारले बजेटमार्फत योजना अघि बढाएसँगै वराहक्षेत्र नगरपालिकाले यसलाई महत्वाकांक्षी परियोजनाका रूपमा लिएको छ। नगर प्रमुख रमेश कार्कीले मोनोरेल सञ्चालनमा आए नेपालकै पहिलो र एक मात्र मोनोरेल परियोजना वराहक्षेत्रमा स्थापित हुने दाबी गरे।

उनका अनुसार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। गुप्तवराहधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको स्थल भएकाले नेपालका विभिन्न जिल्लासहित भारत, भुटानलगायत मुलुकबाट समेत श्रद्धालुहरू यहाँ आउने गरेका छन्।

मोनोरेल सञ्चालनमा आएपछि तीर्थयात्रा थप सहज हुने, पर्यटकको आगमन बढ्ने तथा क्षेत्रीय पर्यटनको विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। साथै परियोजनाले रोजगारी सिर्जना, व्यापार प्रवर्द्धन र स्थानीय पूर्वाधार विकासमा समेत दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सम्भाव्यता अध्ययन सुरु भएसँगै गुप्तवराहधामलाई आधुनिक धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानले गति लिएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij