२०८३ साउन १२ मंगलबार

सिँचाइका लागि हजारौं किसानद्वारा श्रमदान, कर्णाली थुनेर खेतमा पुर्‍याइयो सिँचाइको पानी

ई आर्थिक    आइतबार, असार ७ २०८३
912
Shares
सिँचाइका लागि हजारौं किसानद्वारा श्रमदान, कर्णाली थुनेर खेतमा पुर्‍याइयो सिँचाइको पानी

बर्दिया । असारको पहिलो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब पाँच हजार किसानले कर्णाली नदीमा अस्थायी बाँध बाँधेर खेतमा सिँचाइको पानी पुर्‍याएका छन्।

गेरुवा गाउँपालिका–१ जनकनगरस्थित कर्णाली नदीको भङ्गालो स्थानीय स्रोतसाधनको प्रयोग गरी थुनेर किसानहरूले ओखरिया इन्टेकतर्फ पानी मोडेका हुन्। ओखरिया इन्टेकबाट करिब १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने गरेको छ।

खडेरीका कारण खेतमा पानी नपुगेपछि किसानहरू ट्याक्टरमा झाला, पाता, काठ र दाउरा बोकेर नदीमा पुगेका थिए। सामूहिक श्रमदानमार्फत नदीको बहाव मोडेर नहरमा पानी ल्याइएको हो।

धान रोपाइँको समयमा हरेक वर्ष किसानहरूले यसरी नै अस्थायी बाँध निर्माण गरेर खेतमा पानी पुर्‍याउने गरेका छन्। राजापुर सिँचाइ आयोजनाअन्तर्गत सञ्चालन हुने संयुक्त बुढीकुलो सिँचाइ प्रणालीमा १२ वटा मौजा समेटिएका छन्।

गोला जलउपभोक्ता संस्थाका अध्यक्ष धनबहादुर शाहीका अनुसार सिँचाइ प्रणालीको स्थायी मुहान नहुँदा किसानहरू हरेक वर्ष जोखिम मोलेर नदीमा बाँध बाँध्न बाध्य छन्। पानीको स्रोत र बुढीकुलो इन्टेकबीच दूरी भएकाले खेतसम्म पानी पुर्‍याउन निकै कठिन हुने गरेको उनले बताए।

“राजापुर क्षेत्र अन्न उत्पादनको प्रमुख केन्द्र भए पनि सिँचाइका लागि स्थायी संरचना नहुँदा किसानले हरेक वर्ष दुःख पाउनुपरेको छ,” शाहीले भने, “सरकारले स्थायी बाँध र संरचना निर्माण गरी सिँचाइ व्यवस्थापन गर्नुपर्छ। करिब सात किलोमिटर स्थायी संरचना निर्माण भए यो समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ।”

स्थानीय किसान गुरुप्रसाद चौधरीले पानी आवश्यक पर्दा हरेक वर्ष नदीमा पुगेर अस्थायी बाँध निर्माण गर्नुपर्ने बाध्यता रहेको बताए। “लामो समयदेखि श्रमदान गरेर पानी ल्याउनुपरेको छ। खेती गर्ने समयमा समेत कुलोमा पानी नहुँदा जोखिमपूर्ण काम गर्न बाध्य छौं,” उनले भने।

राजापुर सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी विक्रम राईका अनुसार नहरमा पानीको मात्रा बढाउन परम्परागत रूपमा जनश्रमदान (बेगारी) गरिँदै आएको छ। कर्णाली नदी विभिन्न भङ्गालोमा फैलिएकाले सामान्य संरचनाले मात्र समस्या समाधान नहुने उनको भनाइ छ।

“नदीको बहाव व्यवस्थापनका लागि ठूलो बजेटसहित दीर्घकालीन योजना आवश्यक छ,” राईले भने, “स्थायी मुहान र संरचना निर्माण नभएसम्म स्थानीयले यस्तै कठिनाइ भोगिरहनुपर्ने अवस्था छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij