२०८३ साउन ९ शनिबार

पुनर्वासमा नयाँ सबस्टेशन सञ्चालनमा, १८ हजार ग्राहक लाभान्वित

ई आर्थिक    शुक्रबार, असार ५ २०८३
855
Shares
पुनर्वासमा नयाँ सबस्टेशन सञ्चालनमा, १८ हजार ग्राहक लाभान्वित

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३/११ केभी, ६/८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार उक्त सबस्टेशन निर्माणका लागि यसअघि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल कार्यबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो।

पुनर्वास क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्तिसम्बन्धी समस्या देखिँदै आएको र त्यसका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो प्राप्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको श्रेष्ठले बताए।

उनका अनुसार सोही निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले नेपाल विद्युत प्राधिकरणका विभिन्न कार्यालयमा रहेका ६/८ एमभिए क्षमताका ट्रान्सफर्मर तथा आवश्यक उपकरणको उपयोग गर्दै बाँकी निर्माण तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गरेको हो।

‘बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहने उक्त सबस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुनेछ,’ श्रेष्ठले भने।

नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयको अग्रसरतामा सम्पन्न उक्त परियोजनाबाट बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

श्रेष्ठका अनुसार सबस्टेशन सञ्चालनमा आएसँगै विद्युत आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ भने भविष्यमा बढ्दो विद्युत माग व्यवस्थापन गर्न समेत सहज हुनेछ।

प्राधिकरणले पुनर्वास क्षेत्रको विद्युत आपूर्ति प्रणाली थप स्थिर, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij