काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन र संस्कृति क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चालु बजेटमा पर्याप्त वृद्धि गरिएको बताउनुभएको छ।
मन्त्री पौडेलले सामाजिक असमानता न्यूनीकरण तथा समावेशी पर्यटन प्रवर्द्धनका लागि प्रत्येक जिल्लामा एक–एक दलित होमस्टे सञ्चालन गर्ने कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी निकायहरूले यस्ता होमस्टेमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ, जसले स्थानीय आर्थिक गतिविधि र समुदायको सशक्तीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।
उहाँले बजेट विनियोजनलाई समन्यायिक र सन्तुलित बनाइएको दाबी गर्दै रणनीतिक महत्वका पदयात्रा मार्गहरूको विकास तथा प्रवर्द्धनका लागि आवश्यक बजेट छुट्याइएको बताउनुभयो।
मन्त्री पौडेलले मन्त्रालयबाट वितरण गरिने विभिन्न पुरस्कार तथा सम्मानलाई व्यवस्थित र पारदर्शी बनाइने जानकारी दिनुभयो। कार्यविधिमा आधारित भएर मात्र पुरस्कार वितरण गर्ने नीति अवलम्बन गरिने उहाँको भनाइ छ।
नागरिक उड्डयन क्षेत्रको सुधारलाई पनि मन्त्रालयले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले हवाई सेवाको गुणस्तर, सुरक्षा र पूर्वाधार विकासका कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो। साथै, नेपाल नागरिक उड्डयन प्राधिकरण लाई थप स्वायत्त र प्रभावकारी रूपमा परिचालन गरी हवाई क्षेत्रको विकास तथा सुधारका कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।